आइतबार, आश्विन १८ गते २०८३

आर्थिक वृद्धिदर ३.०२ प्रतिशत पुग्ने प्रक्षेपण


माघ २, २०८२ शुक्रबार
आर्थिक वृद्धिदर ३.०२ प्रतिशत पुग्ने प्रक्षेपण

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) मा नेपालको अर्थतन्त्रले ३.०२ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ। मौसमी प्रभाव नसमेट्दा अर्थतन्त्रका १८ वटै औद्योगिक क्षेत्रमा धनात्मक वृद्धि रहने अनुमान छ। गत आवको सोही अवधिमा वृद्धिदर २.९ प्रतिशत थियो।

खाद्यान्न बाली, वन पैदावार, निर्जीवन बिमा र निर्माण सामग्री उत्पादनमा केही सङ्कुचन देखिए पनि विद्युत्, वित्तीय सेवा, पशुजन्य उत्पादन, व्यापार र पर्यटन क्षेत्रको वृद्धिले समग्र अर्थतन्त्रलाई टेवा दिएको कार्यालयले जनाएको छ।

मौसमी प्रभाव समायोजन गर्दा भने पहिलो त्रैमासको वृद्धिदर १.६८ प्रतिशतले सङ्कुचित हुने देखिएको छ। मौसमी समायोजनपछि १८ मध्ये १३ क्षेत्रको वृद्धिदर नकारात्मक रहने अनुमान छ।

क्षेत्रगत रूपमा विद्युत् तथा ग्यास क्षेत्र १४.९१ प्रतिशत वृद्धिसहित सबैभन्दा अगाडि छ भने वित्तीय तथा बिमा (७.०७ प्रतिशत), पेसागत तथा प्राविधिक सेवा (५.५२ प्रतिशत) र व्यापार (३.८९ प्रतिशत) पनि सकारात्मक देखिएका छन्। कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर भने १.३६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।