काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि रु. २५ अर्ब बराबरको एकवर्षे ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आज (पुस ३० गते) बोलकबोलमार्फत् नेपाल राष्ट्र बैंक ऋणपत्र निष्कासन गर्ने सम्बन्धी सूचना सार्वजनिक गरेको हो ।
सूचनाअनुसार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘झ’’ नामक यस ऋणपत्रको अवधि एक वर्षको हुनेछ । ऋणपत्रका लागि बोलकबोल २०८२ पुस ३० गते मध्याह्न २ बजेसम्म इ–बिडिङ्ग मार्फत मात्र गर्न सकिने व्यवस्था गरिएको छ । सोही दिन ऋणपत्र निष्कासन हुनेछ भने साँवा भुक्तानी २०८३ पुस ३० गते हुनेछ ।
यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । एकल ब्याजदर वा बहु ब्याजदर दुवै विकल्पमा बोलकबोल गर्न सकिनेछ । ब्याज भुक्तानी भने अर्धवार्षिक रूपमा गरिने बैंकले जनाएको छ ।
बोलकबोलमा सहभागी हुन इच्छुक संस्थाले न्यूनतम रु. ५ करोड र सोको गुणकमा कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन् । यस ऋणपत्रलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि समय–समयमा यस्ता ऋणपत्र जारी गर्दै आएको छ ।
नेपालपत्र संवाददाता