आइतबार, आश्विन १८ गते २०८३

नबिल बैंकमा नेतृत्व हस्तान्तरण, अध्यक्षमा चाैधरी


पौष २९, २०८२ मंगलबार
नबिल बैंकमा नेतृत्व हस्तान्तरण, अध्यक्षमा चाैधरी

 

काठमाडौं । चार दशकभन्दा बढी समयदेखि नेपालको बैंकिङ क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नबिल बैंकले ४१औँ वार्षिक साधारणसभामार्फत नेतृत्व हस्तान्तरणसँगै आगामी रणनीतिक यात्राको स्पष्ट संकेत दिएको छ । साधारणसभाले नयाँ अध्यक्ष चयन, सञ्चालक संरचना सुदृढीकरण, सेयरधनी प्रतिफल र पुँजीगत आधार मजबुत बनाउने महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले निर्वाणकुमार चौधरीलाई अध्यक्षमा नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहणपछि उनले औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन् । नयाँ नेतृत्वमा नबिल बैंकले जोखिम व्यवस्थापन, डिजिटल बैंकिङ र दिगो वित्तलाई थप प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।

सोमबार सम्पन्न साधारणसभाबाट नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्दै सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । लामो समय बैंकको कार्यकारी नेतृत्व सम्हालिसकेका शाहको सञ्चालक समितिमा पुनः प्रवेशलाई बैंकको रणनीतिक निरन्तरताको संकेतका रूपमा हेरिएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले उनको दुई कार्यकाल सफलतापूर्वक सम्पन्न भएको औपचारिक रूपमा स्मरण गरेको छ । पौडेलको नेतृत्वमा नबिल बैंकले डिजिटल रूपान्तरण, दिगो बैंकिङ अभ्यास, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) र मर्जर प्रक्रिया सफलतापूर्वक अघि बढाएको बैंकको भनाइ छ ।

साधारणसभाले चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले जारी गरेको ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’लाई पनि महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेको छ । यस पुँजी उपकरणमार्फत बैंकको अतिरिक्त प्राथमिक पुँजी बढ्दै जोखिम वहन क्षमता मजबुत हुने र भविष्यको व्यवसाय विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

हाल नबिल बैंकले देशभर २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याउँदै दिगो बैंकिङको अवधारणालाई व्यवहारमा उतार्दै आएको बैंकले आगामी दिनमा पनि सबै सरोकारवालासँग सहकार्य गर्दै दीर्घकालीन वित्तीय स्थायित्वमा केन्द्रित रहने प्रतिबद्धता जनाएको छ ।