आइतबार, आश्विन १८ गते २०८३

नेपाल जीवनस्तर सर्वेक्षणः  २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि


पौष २८, २०८२ सोमबार
नेपाल जीवनस्तर सर्वेक्षणः  २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०७९/८० मा गरेको नेपाल जीवनस्तर सर्वेक्षण अनुसार  मुलुकमा  २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको पाइएको छ । नेपाली जनताको जीवनस्तर मापन तथा मौद्रिक गरिबी मापनका लागि विश्व बैंकले विकास गरेको जीवनस्तर मापन अध्ययन विधिको अनुसरण गर्दै नेपाल जीवनस्तर सर्वेक्षण सञ्चालन गर्दै आएको कार्यालयले जनाएको छ ।

  पछिल्लो पटक गरिबी मापन गर्दा नेपालको लागि वार्षिक प्रति व्यक्ति खर्चका आधारमा ७२ हजार ९०८ रुपैयाँको नयाँ गरिबी रेखा निर्धारण गरिएको छ  ।   नयाँ गरिबी रेखा अनुसार नेपालमा करिब २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको देखिएको छ । यसमध्ये शहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको छ । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी गरिबीको दर सुदूरपश्चिम प्रदेशमा रहेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा रहेको देखिएको छ । 

सर्वेक्षण प्रतिवेदन अनुसार देशका १५ वटा विश्लेषणात्मक क्षेत्रमध्ये कोशी प्रदेशमा १७.१९ प्रतिशत गरिबीको दर रहेको छ । कोशी प्रदेशको सहरी क्षेत्रमा १५.९ प्रतिशत र ग्रामीण क्षेत्रमा १९.६७ प्रतिशत गरिबी रहेको छ । मधेश प्रदेशमा २२.५३ प्रतिशत गरिबी दर रहेको छ । मधेश प्रदेशको सहरी क्षेत्रमा २१.७१ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.९६ प्रतिशत गरिबी रहेको छ । बागमती प्रदेशमा १२.५९ प्रतिशत गरिबी रहेको छ । काठमाडौँ उपत्यकाको सहरी क्षेत्रमा ७.३८ प्रतिशत, बागमती प्रदेशको सहरी क्षेत्रमा १४.१५ प्रतिशत र बागमती प्रदेशको ग्रामीण क्षेत्रमा २५.६१ प्रतिशत गरिबी रहेको छ ।

गण्डकी प्रदेशमा ११.८८ प्रतिशत गरिबीको दर रहेको छ । गण्डकी प्रदेशको सहरी क्षेत्रमा १२.६३ प्रतिशत र ग्रामीण क्षेत्रमा १०.२७ प्रतिशत गरिबी रहेको छ । लुम्बिनी प्रदेशमा २४.३५ प्रतिशत गरिबी रहेको छ । लुम्बिनी प्रदेशको सहरी क्षेत्रमा २४.०८ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.७३ प्रतिशत गरिबी रहेको छ ।

कर्णाली प्रदेशमा २६.६९ प्रतिशत गरिबी दर रहेको छ । कर्णाली प्रदेशको सहरी क्षेत्रमा २३.१६ प्रतिशत र ग्रामीण क्षेत्रमा ३०.८६ प्रतिशत गरिबी रहेको छ । सुदूरपश्चिम प्रदेशमा ३४.१६ प्रतिशत गरिबी दर रहेको छ । सुदूरपश्चिम प्रदेशको सहरी क्षेत्रमा ३०.८६ प्रतिशत र ग्रामीण क्षेत्रमा ४०.२१ प्रतिशत गरिबी रहेको छ ।