आइतबार, आश्विन १८ गते २०८३

निर्यातमा देखियाे वृद्धि, पाँच महिनामा ११६ अर्ब नाघ्याे


पौष २५, २०८२ शुक्रबार
निर्यातमा देखियाे वृद्धि, पाँच महिनामा ११६ अर्ब नाघ्याे

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापारले निर्याततर्फ उत्साहजनक संकेत देखाएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यस अवधिमा कुल वस्तु निर्यात ५८.२ प्रतिशतले वृद्धि भई ११६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य सुधार हो ।

गत वर्ष यही अवधिमा निर्यात वृद्धि १६.५ प्रतिशतमा सीमित रहेको थियो । गन्तव्य मुलुकका आधारमा हेर्दा, भारततर्फको निर्यात सबैभन्दा धेरै ८२.७ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फको निर्यात ५.५ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, चीनतर्फको निर्यात भने ७३.३ प्रतिशतले घटेको छ, जसले बजार विविधीकरण अझै चुनौतीपूर्ण रहेको देखाउँछ ।

वस्तुगत आधारमा, भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात उल्लेख्य रूपमा बढेको छ । तर, जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलाजस्ता परम्परागत वस्तुको निर्यात भने घटेको छ ।

निर्यातमा देखिएको यो सकारात्मक प्रवृत्तिसँगै आयात पनि बढेको छ । पाँच महिनामा कुल वस्तु आयात १५.८ प्रतिशतले वृद्धि भई ७६६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । भारत, चीन र अन्य मुलुकबाट हुने आयात क्रमशः ५.७ प्रतिशत, २४.६ प्रतिशत र ४०.८ प्रतिशतले बढेको छ ।

आयाततर्फ भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस् र चाँदीको आयात बढेको छ । जबकि हट रोल्ड शिट इन क्वाइल, लसुन, खाने तेल, तेलहन र दालको आयात घटेको छ ।

यस अवधिमा कुल वस्तु व्यापार घाटा भने १०.५ प्रतिशतले बढेर ६४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । यद्यपि, निर्यात–आयात अनुपात १५.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ११.१ प्रतिशतको तुलनामा सुधार हो । यसले निर्यात वृद्धिले व्यापार घाटा विस्तारको दबाब केही हदसम्म कम गरेको संकेत गर्दछ ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ६९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा केही कम हो ।