आइतबार, आश्विन १८ गते २०८३

अर्थतन्त्र स्थिरतातर्फ, तर खर्च–राजश्व संकलनबीच खाडल


पौष २५, २०८२ शुक्रबार
अर्थतन्त्र स्थिरतातर्फ, तर खर्च–राजश्व संकलनबीच खाडल

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो पाँच महिनाको तथ्यांकले नेपाली अर्थतन्त्र मुद्रास्फीति नियन्त्रण, बाह्य क्षेत्र मजबुती र वित्तीय स्थिरताको संकेत देखाएको छ । तर, सरकारी खर्च र राजस्वबीचको फराकिलो अन्तर तथा कर्जा विस्तारको सुस्तता भने चुनौतीकै रूपमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांकअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.६३ प्रतिशतमा सीमित रहेको छ । पछिल्ला वर्षहरूमा उच्च मुद्रास्फीतिको दबाब खेप्दै आएको अर्थतन्त्रका लागि यो सकारात्मक संकेत मानिन्छ ।

विदेशी मुद्रा सञ्चिति ऐतिहासिक उचाइमा

पाँच महिनामा नेपालको कुल विदेशी विनिमय सञ्चिति रु. ३२०१ अर्ब ४७ करोड पुगेको छ । अमेरिकी डलरमा यो सञ्चिति २२ अर्ब १३ करोड बराबर छ । वर्तमान सञ्चितिले १८.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको देखिन्छ, जसले बाह्य क्षेत्रलाई अत्यन्त सुरक्षित बनाएको छ ।

बाह्य क्षेत्र सबल, चालु खाता र शोधनान्तर बचतमा

यस अवधिमा नेपालको चालु खाता रु. ३५८ अर्ब ८३ करोड र शोधनान्तर रु. ४२१ अर्ब ८९ करोड बचतमा रहेको छ । यसमा विप्रेषण आप्रवाहको उल्लेख्य योगदान देखिन्छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३५.६ प्रतिशत र अमेरिकी डलरमा २९ प्रतिशतले वृद्धि भएको छ । मङ्सिर महिनामा मात्रै विप्रेषण रु. १८३ अर्ब १८ करोड पुगेको छ ।

व्यापार गतिविधि बढ्दो

पाँच महिनामा निर्यात ५८.२ प्रतिशतले बढ्दा आयात पनि १५.८ प्रतिशतले वृद्धि भएको छ । आयातको वृद्धिदर निर्यातभन्दा कम रहेकाले व्यापार घाटा थप नबढ्ने संकेत देखिएको छ ।

सरकारी वित्तमा दबाब

यस अवधिमा नेपाल सरकारको कुल खर्च रु. ५६४ अर्ब ४६ करोड पुगेको छ भने राजस्व परिचालन रु. ४०६ अर्ब ३० करोड मात्र रहेको छ । खर्च र आम्दानीबीचको यो अन्तरले राजकोषीय दबाब कायम रहेको संकेत गर्दछ ।

बैंकिङ क्षेत्रमा तरलता सहज, कर्जा विस्तार सुस्त

विस्तृत मुद्राप्रदाय पाँच महिनामा ३.७ प्रतिशतले बढेको छ भने वार्षिक आधारमा १२.९ प्रतिशत वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३.९ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा भने १.९ प्रतिशतले मात्र बढेको छ ।

वार्षिक आधारमा निक्षेप वृद्धिदर १३.९ प्रतिशत र कर्जा वृद्धिदर ६.६ प्रतिशत रहेको छ, जसले बैंकिङ प्रणालीमा तरलता भए पनि कर्जा माग कमजोर रहेको देखाउँछ ।

ब्याजदर न्यून स्तरमा

अन्तरबैंक बजारमा भारित औसत अन्तरबैंक दर २.७४ प्रतिशत र ९१ दिन अवधिको ट्रेजरी बिलको औसत ब्याजदर २.३७ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.६६ प्रतिशत र कर्जाको औसत ब्याजदर ७.२६ प्रतिशत कायम छ ।

समग्र निष्कर्ष

पाँच महिनाको तथ्यांकले नेपाली अर्थतन्त्र मुद्रास्फीति नियन्त्रण, विदेशी मुद्रा मजबुती र बाह्य क्षेत्र सन्तुलनतर्फ उन्मुख देखाएको छ । तर, सरकारी खर्च व्यवस्थापन, कर्जा विस्तार र आन्तरिक उत्पादन तथा लगानी बढाउने चुनौती अझै कायमै रहेको