आइतबार, आश्विन १८ गते २०८३

एनएमबि बैंकको साधारणसभाद्वारा सेयरधनीलाई १० प्रतिशत लाभांश पारित


पौष २५, २०८२ शुक्रबार
एनएमबि बैंकको साधारणसभाद्वारा सेयरधनीलाई १० प्रतिशत लाभांश पारित

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको ३०औँ वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय स्वीकृत गरेको हो ।

एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा यही बिहीबार सम्पन्न भएको सभामा बैंकका सञ्चालक, सेयरधनी तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

साधारण सभामा सहभागी सेयरधनीहरूले बैंकको वित्तीय अवस्था, भावी रणनीति तथा सेवा विस्तारका विषयमा आफ्ना धारणा राख्दै व्यवस्थापनप्रति सुझाव प्रस्तुत गरेका थिए ।

सभामा प्रस्तुत वित्तीय विवरणअनुसार बैंकले २०८२ आषाढ मसान्तसम्म २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकले २८३.६५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै २४३.३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम तथा ९ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।