काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडले ‘माइ कार्ड’ नामक व्यक्तिगत डेबिट कार्ड सेवा औपचारिक रूपमा सुरु गरेको छ।
यस सेवाअन्तर्गत एससिटी नेटवर्कअन्तर्गतका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले आफ्नै इच्छाअनुसारको फोटो प्रयोग गरी एससिटी युनियन पे डेबिट कार्ड लिन सक्नेछन्। ग्राहकले रोजेको तस्वीर कार्डमै छापिने भएकाले यो सेवा व्यक्तिगत पहिचान र आकर्षणका हिसाबले नयाँ अनुभव हुने एससिटीले जनाएको छ।
हाल एससिटी युनियन पे स्किमअन्तर्गत आइसीएफसि फाइनान्स लिमिटेडबाट यो सेवा सुरु गरिएको हो। बैंक तथा वित्तीय संस्थाको रुचिअनुसार भविष्यमा भिषा तथा नेपालपे स्किममा पनि याे सेवा विस्तार गर्ने गरी प्रविधि विकास गरिएको कम्पनीले जनाएको छ। साथै एससिटी नेटवर्क बाहिरका बैंक तथा वित्तीय संस्थाले समेत माइ कार्ड प्लेटफर्म प्रयोग गरी आफ्ना ग्राहकलाई सेवा प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।
नेपालपत्र संवाददाता