काठमाडौं । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी) भर्ना गर्ने भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो।
निर्वाचन प्रहरीका लागि पुस २५ गतेदेखि माघ १ गतेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिनेछ। आवेदन दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने प्रहरीले जनाएको छ।
को–को हुन सक्छन् उम्मेदवार ?
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार निर्वाचन प्रहरीका लागि निम्न योग्यता आवश्यक छः
-
नेपाली नागरिक
-
साधारण लेखपढ गर्न जान्ने
-
नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको
-
भर्नाको समयमा कुनै राजनीतिक दलको सदस्य नभएको
-
शारीरिक तथा मानसिक रूपमा स्वस्थ
-
आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँग आबद्ध नभएको
त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, सुरक्षा सङ्गठनमा विभिन्न पदमा आवेदन दिई शारीरिक तथा स्वास्थ्य परीक्षण उत्तीर्ण गरेका व्यक्तिलाई पनि प्राथमिकताका साथ छनोट गरिनेछ।
यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरी सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिक पनि छनोटमा पर्नेछन्।
छनोट र तालिम तालिका
-
प्रारम्भिक छनोट: माघ ५ देखि ९ गतेसम्म
-
अन्तिम नतिजा प्रकाशन: माघ १२ गते
-
तालिम तथा प्रशिक्षण: माघ १५ देखि २४ गतेसम्म
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिन वा नेपाल सरकारले तोकेअनुसार हुनेछ। निर्वाचनको समयावधि अनुसार कार्यअवधि हेरफेर हुन सक्ने पनि प्रहरीले जनाएको छ। निर्वाचन प्रहरी भर्ना, छनोट र परिचालनसम्बन्धी एकीकृत कार्यविधि २०८२ सरकारले स्वीकृत गरिसकेको छ।
निर्वाचन प्रहरीले पाउने सुविधा
निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनका लागि ३४ हजार ७७६ रुपैयाँ पाउनेछन्।
यसका साथैः
-
सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाउने दररेटअनुसार खाद्यान्नबापतको रकम व्यक्तिगत बैंक खातामा
-
खटिएको ठाउँमा आउजाउ तयारीका लागि एक पटकको लागि ८४६ रुपैयाँ
-
चार दिनका लागि प्रतिदिन ३०० रुपैयाँका दरले १,२०० रुपैयाँ खाजा खर्च
-
नेपाल प्रहरी प्रधान कार्यालयले तोकेको दररेटअनुसार पोसाक खर्च
कर्तव्य पालनको क्रममा निर्वाचन प्रहरी घाइते भएमा स्वयंले र मृत्यु भएमा नजिकको हकदारले नेपाल सरकारले तोकेबमोजिमको क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ।
नेपालपत्र संवाददाता