काठमाडौं । सरकारले इजरायलमा दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) र कृषिक्षेत्रमा नेपाली श्रमिक पठाउने गरी श्रम सम्झौता गर्न स्वीकृति दिएको छ। मन्त्रीपरिषद्को सोमबारको बैठकले नेपाल र इजरायल सरकारबिच जिटुजी आधारमा तीन क्षेत्रमा श्रमिक पठाउने सम्झौता गर्न अनुमति दिएको हो।
यसअघि संस्थागत रूपमा मात्र केयरगिभर पठाइँदै आएकोमा अब होम–टु–होम केयरगिभर र कृषिक्षेत्रमा समेत श्रमिक पठाउने व्यवस्था हुने जनाइएको छ। श्रम मन्त्रालयका अनुसार इजरायल सरकारले पहिल्यै निर्णय गरिसकेपछि नेपालले सम्झौताका लागि स्वीकृति दिएको हो। नयाँ सम्झौतामा नवीकरणको प्रावधान पनि समेटिएको छ।
यसैगरी, सरकारले ओमानसँग श्रम समझदारी (बिटुबी) गर्न पनि स्वीकृति दिएको छ। ओमान सरकारले यसअघि नै सम्झौताका लागि सहमति जनाइसकेको र अब दुई देशबिच हस्ताक्षर प्रक्रिया अगाडि बढ्ने श्रम मन्त्रालयले जनाएको छ।
यी सम्झौतापछि इजरायल र ओमानमा नेपाली श्रमिकका लागि रोजगारीका अवसर थपिने अपेक्षा गरिएको छ।
नेपालपत्र संवाददाता