काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको तरलता व्यवस्थापन गर्न आज २० अर्ब रूपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार उक्त ऋणपत्र २०८२ पुस २३ गते २ः०० बजेभित्र अनलाइन बोलकबोल गर्न सकिनेछ । यो ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ।
बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। न्यूनतम ५ करोड देखि ५ करोडका गुणकमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रहेको ऋणपत्रको सावाँ फिर्ता २०८३ पुस २३ गते हुनेछ ।
ऋणपत्र राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिनेछ ।
नेपालपत्र संवाददाता