आइतबार, आश्विन १८ गते २०८३

२५ अर्बको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ जारी, यस्ता छन् विशेषता


पौष १४, २०८२ सोमबार
२५ अर्बको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ जारी, यस्ता छन् विशेषता

 नेपाल राष्ट्र बैंकले पहिलोपटक ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ निष्कासन गरेको छ ।  केन्द्रीय बैंकले सोमबार १ वर्षे अवधिको २५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ बोलकबोल प्रक्रियाबाट जारी गर्न लागेको हो। 

उक्त ऋणपत्रमा अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ भने ब्याजदर बोलकबोलमार्फत निर्धारण गरिनेछ। ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस १४ गते हुने राष्ट्र बैंकले जनाएको छ। न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। 

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले प्रतिस्पर्धी बोलकबोलमार्फत सहभागी हुन सक्नेछन् भने बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि उक्त ऋणपत्र खरिद गर्न सक्नेछन्। आज अपराह्न २ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र धितोका रूपमा प्रयोग गर्न सकिनेछ। बैंकहरूमा तरलता अभाव भएमा यही ऋणपत्र राखी राष्ट्र बैंकबाट पुनः तरलता लिन सकिने व्यवस्था गरिएको छ। ऋणपत्रमा अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने र त्यसमा ब्याजकर समेत लाग्नेछ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि त्यसलाई व्यवस्थित गर्न केन्द्रीय बैंकले नयाँ उपकरण प्रयोग गर्न थालेको हो। यसअघि खुला बजार कारोबार अन्तर्गत रिपो र रिभर्स रिपो प्रयोग हुँदै आएकोमा अब ऋणपत्र निष्कासन थप प्रभावकारी उपकरण बन्न सक्ने देखिन्छ। 

यो ऋणपत्रले एकातर्फ बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता तान्नेछ भने अर्कोतर्फ बैंकहरूलाई सुरक्षित र सरकारीस्तरको लगानी विकल्प उपलब्ध गराउनेछ। ब्याजदर बोलकबोलबाट तय हुने भएकाले बजारमै आधारित ब्याज संरचना विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।