बुधबार, भाद्र ३ गते २०८३

जीवन बीमा प्रिमियममा वृद्धि, ५ महिनामा ७६ अर्ब ९० करोड संकलन


पौष १४, २०८२ सोमबार
जीवन बीमा प्रिमियममा वृद्धि, ५ महिनामा ७६ अर्ब ९० करोड संकलन

 

चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो पाँच महिनामा जीवन बीमा व्यवसायमा वृद्धि देखिएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ७६ अर्ब ९० करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन गरेका छन्। जुन गत वर्षको सोही अवधिको तुलनामा करिब १५ प्रतिशतको हाराहारीमा वृद्धि हो । 

यस अवधिमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले १ करोड १५ लाखभन्दा बढी बीमालेख बिक्री गरेका छन्, जसले जीवन बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दो क्रममा रहेको देखाउँछ। मंसिर महिनामा मात्रै ३ लाख ५६ हजारभन्दा बढी बीमालेख जारी गर्दै कम्पनीहरूले १४ अर्ब ६८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

व्यवसायिक प्रदर्शनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले पाँच महिनामा १७ लाख ९० हजारभन्दा बढी बीमालेख जारी गरी २१ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। त्यसपछि नेसनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहँदै ९ अर्ब २७ करोड रुपैयाँ र एलआइसी नेपाल तेस्रो स्थानमा रहँदै ८ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएका छन्।

अन्य कम्पनीमध्ये हिमालयन लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी र सूर्यज्योति लाइफले पनि ४ अर्बदेखि ७ अर्ब रुपैयाँसम्मको बीमाशुल्क संकलन गर्दै प्रतिस्पर्धात्मक उपस्थिति देखाएका छन्। मध्यम तथा साना जीवन बीमा कम्पनीहरूले समेत अर्बौं रुपैयाँको कारोबार गर्दै बजार विस्तारमा योगदान पुर्‍याइरहेका छन्।

समग्रमा, जीवन बीमा क्षेत्रमा कारोबार विस्तार, बीमालेख संख्या वृद्धि र कम्पनीहरूको सक्रिय प्रतिस्पर्धाले बजार क्रमशः सुदृढ बन्दै गएको संकेत गरेको छ। आगामी महिनाहरूमा आर्थिक गतिविधि थप चलायमान भए जीवन बीमा व्यवसाय अझै मजबुत हुने अपेक्षा गरिएको छ।