रसुवा । करिब छ महिना ठप्प भएको नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। गत असार २४ गतेको बाढीले क्षति पु¥याएको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि नाका खोलिएको हो।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार बिहान ७ बजेदेखि नेपाली मालवाहक ट्रक केरुङतर्फ आवागमन गर्न थालेका छन्। ल्हेन्देखोलामा निर्माण गरिएको बेलिब्रिजको प्राविधिक जाँच सफल भएपछि पुस १७ गतेदेखि नाका खोल्ने निर्णय भएको हो।
रसुवा भन्सार कार्यालयले नयाँ बेलिब्रिजबाट मानिस तथा सवारी आवतजावत सुरु भइसकेको जनाएको छ। पुस १७ गतेदेखि मालवाहक सवारीसाधन र व्यापारीलाई समेत नाकाबाट आवागमनको अनुमति दिइने छ। चिनियाँ पक्षले आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि मात्र प्रवेश दिन सूचित गरेको छ।
बाढीका कारण केरुङतर्फ अड्किएका कन्टेनर व्यवस्थापनका लागि व्यवसायी प्रतिनिधि पनि त्यसतर्फ गइसकेका छन्। हाल एकतर्फी पालैपालो प्रणाली लागू गरिने र सवारी निरीक्षणपछि मात्र आवागमन अनुमति दिइने छ।
जी–२१६ सीमाक्षेत्रमा सडक कालोपत्रे भइरहेकाले जनवरी १ देखि ८ सम्म सीमित समय मात्र आवागमन खुला रहने छ। जनवरी ८ पछि भने समय थप गरी अस्थायी रूपमा सञ्चालन गरिने चिनियाँ पक्षले जनाएको छ।
यसअघि बाढीले पुल बगाउँदा नेपाल–चीन सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो। स्याफ्रुबेँसी–रसुवागढी खण्डमा अझै क्षति मर्मत हुन नसकेकाले हाल एक लेनमा मात्र सवारी सञ्चालन सम्भव हुने आयोजना प्रमुख कृष्णनाथ ओझाले बताएका छन्।
नेपालपत्र संवाददाता