वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार पुनः २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले १२ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रक्रिया प्रयोग गरी बजारबाट तरलता खिच्न लागेको हो ।
हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७५ खर्ब रुपैयाँ नाघिसकेको छ । बढ्दो तरलता र त्यसबाट उत्पन्न ब्याजदरको दबाब व्यवस्थापन गर्न केन्द्रीय बैंकले पछिल्लो समय निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ ।
बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन् । निक्षेप संकलन गर्दा सहभागी संस्थाहरूले प्रस्ताव गरेका ब्याजदरका आधारमा रकम बाँडफाँट गरिनेछ । यस क्रममा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने रकमलाई प्राथमिकता दिँदै आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिने व्यवस्था गरिएको छ ।
नेपालपत्र संवाददाता