ग्लोबल आइएमई बैंक लिमिटेडले कोशी प्रदेशका साना तथा लघु उद्यम र व्यवसायमा कर्जा पहुँच विस्तार गर्न डिएआई–उदय परियोजनासँग सहकार्य गर्ने भएको छ। यससम्बन्धी समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी र परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार डिएआई–उदय परियोजनाले छनोट गरेका उद्यम तथा व्यवसायहरूले ग्लोबल आइएमई बैंकका कोशी प्रदेशका सबै शाखाबाट सहजरूपमा कर्जा प्राप्त गर्नेछन्। यसले लगानीको अभावका कारण विस्तार गर्न नसकेका उद्यमहरूको व्यवसाय वृद्धि र रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलमा, कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको डिएआई–उदय परियोजनाले प्रदेशका सबै जिल्लामा नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, आईटी, पर्यटन र उत्पादनमूलक उद्योगमा वित्तीय पहुँच र व्यवसायिक उन्नतिका लागि काम गर्दै आएको छ।
नेपालपत्र संवाददाता