आइतबार, आश्विन १८ गते २०८३

शेयर बजारमा कोर्स करेक्सन, परिसूचक २५८४ विन्दुमा


पौष ८, २०८२ मंगलबार
शेयर बजारमा कोर्स करेक्सन, परिसूचक २५८४ विन्दुमा

लगातार तीन दिनको गिरावटपछि शेयर बजारमा कोर्स करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य सुधारसहित बढेको हो ।

नेप्से परिसूचक ३.२७ अङ्कले बढेर आज २५८४.४९ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१२ प्रतिशतको वृद्धि हो । अघिल्ला केही दिनको गिरावटपछि लगानीकर्ताले खरिदतर्फ रुचि देखाउँदा बजारमा सीमित सुधार आएको विश्लेषण गरिएको छ ।

आजको कारोबारमा कुल ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ९२ हजार ७४६ पटकको कारोबारमार्फत ३२८ कम्पनीका ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर कारोबार भएका छन् । कारोबारमा सहभागी कम्पनीहरूमध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ । बाँकी ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

समूहगत सूचकतर्फ हेर्दा आज सूचीकृत १३ मध्ये ७ समूहका सूचक बढेका छन् भने ६ समूहका सूचक घटेका छन् । अन्य समूहमा सबैभन्दा धेरै १.२८ प्रतिशतको वृद्धि देखिएको छ । बाँकी समूहहरूमा भने एक प्रतिशतभन्दा कमको उतारचढाव मात्र देखिएको छ ।

व्यक्तिगत कम्पनीतर्फ आज एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७.०१ प्रतिशतले बढेर प्रतिकित्ता ८०६ रुपैयाँ पुगेको छ । त्यसैगरी गुराँस लघुवित्तको सेयर मूल्य ६.०१ प्रतिशत र सयपत्री हाइड्रोपावरको ५.९६ प्रतिशतले वृद्धि भएको छ। घट्ने कम्पनीतर्फ भने सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.९७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नै शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ३० करोड ९८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । अन्य कुनै पनि कम्पनीको कारोबार रकम १० करोड रुपैयाँ ननाघेको नेप्सेले जनाएको छ ।