काठमाण्डाै । चालु आर्थिक वर्षमा वैदेशिक लगानी प्रतिबद्धता निरन्तर बढ्दो देखिएको छ। उद्योग विभागका अनुसार साउनदेखि मङ्सिरसम्म पाँच महिनामा ३८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ। यस अवधिमा ४३८ वटा साना, मझौला र ठूला परियोजनाका लागि विदेशी लगानी स्वीकृत गरिएको हो।
परियोजनाको संख्याका हिसाबले सूचना तथा सञ्चार प्रविधि, अर्थात् आईसीटी क्षेत्र अगाडि देखिएको छ। कुल परियोजनाको आधाभन्दा बढी, २३६ वटा आईसीटी क्षेत्रमा परेका छन्। तर लगानी रकमका आधारमा भने कृषि तथा वनजन्य उद्योग सबैभन्दा अगाडि छन्, जहाँ १३ परियोजनामा करिब २२ अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ।
पर्यटन क्षेत्रमा १ सय ३५ परियोजनामार्फत १० अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको छ। सेवा क्षेत्रमा पनि तीन अर्ब रुपैयाँभन्दा बढीको प्रस्ताव आएको विभागले जनाएको छ। महिनागत रूपमा हेर्दा भदौ महिनामै सबैभन्दा धेरै, करिब ३३ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको देखिन्छ। जेनजी आन्दोलनका बाबजुद पनि वैदेशिक लगानीमा खासै नकारात्मक प्रभाव नपरेको तथ्याङ्कले देखाएको छ।
उद्योग विभागका अनुसार साउनदेखि मङ्सिरसम्म रोयल्टीबापत एक अर्ब ६२ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता लैजान स्वीकृति दिइएको छ भने करिब १८ सय विदेशी लगानीकर्ताका लागि भिसा सिफारिस गरिएको छ। समग्रमा, आईसीटी, कृषि र पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो देखिए पनि ऊर्जा र पूर्वाधार क्षेत्रमा भने अपेक्षित लगानी आउन सकेको छैन।
नेपालपत्र संवाददाता