जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये हालसम्म रु पाँच अर्ब १८ करोड रकम बीमितलाई भुक्तानी भइसकेको छ।
नेपाल बीमा प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार निर्जीवन बीमा कम्पनीमा परेका ३,३०३ वटा दाबीमध्ये कुल करिब रु २३ अर्ब ४५ करोड दाबी रकममध्ये सो भुक्तानी सम्पन्न भएको हो।
भुक्तानीमध्ये सम्पत्ति बीमातर्फ रु ३ अर्ब ८२ करोड र मोटर बीमातर्फ रु १ अर्ब २२ करोड रहेको छ। यसैगरी इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ करिब रु ७ करोड ५० लाख, परिवहन बीमातर्फ रु १ करोड ५५ लाख र अन्य बीमातर्फ करिब रु ५ करोड ५० लाख (अग्रिम भुक्तानीसमेत) रकम भुक्तानी भएको प्राधिकरणले जनाएको छ।
यसबीच, जेनजी आन्दोलनसम्बन्धी दाबी भुक्तानीका लागि नेपाल पुनःबीमा कम्पनीले निर्जीवन बीमा कम्पनीलाई करिब रु ३ अर्ब २ करोड अग्रिम भुक्तानीसहित पुनःबीमा दाबी भुक्तानी गरेको छ। पुनःबीमा कम्पनीमा १४ वटा निर्जीवन बीमा कम्पनीबाट परेका २,८६२ वटा दाबीको कुल दाबी रकम करिब रु १६ अर्ब ६२ करोड रहेको अद्यावधिक तथ्याङ्क छ।
नेपालपत्र संवाददाता