बुधबार, भाद्र ३ गते २०८३

राजनीतिक सङ्कटका वावजुद पर्यटनमा उत्साह, पुनरूत्थानको सम्भावना बलियोः अर्थमन्त्री खनाल


पौष ३, २०८२ बिहीबार
राजनीतिक सङ्कटका वावजुद पर्यटनमा उत्साह, पुनरूत्थानको सम्भावना बलियोः अर्थमन्त्री खनाल

 

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक सङ्कटपछि नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय उत्साह देखिएको बताएका छन् । गोरखापत्र संस्थानद्वारा आयोजित गोरखापत्र डिस्कोर्स उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले पछिल्लो तथ्याङ्कले नेपालको पुनरुत्थान क्षमतालाई स्पष्ट रूपमा देखाएको धारणा राखे ।

नेपालको इतिहासमै सर्वाधिक पर्यटक आगमन अक्टोबर २०२५ मा भएको छ बताउँदै खनालले अंग्रेजी वर्षको अन्त्यसम्म आइपुग्दा यो वर्षकै सबैभन्दा बढी पर्यटक आगमन हुने अनुमान गरिएको जनाए । “यो तथ्याङ्कले नेपाल जुनसुकै सङ्कटबाट पनि छिटो पुनरुत्थान गर्न सक्षम छ भन्ने विश्वास दिलाएको छ,” अर्थमन्त्री खनालले भने।

उनले कच्चा पदार्थको आयातसम्बन्धी तथ्याङ्कले देशभित्र उत्पादन बढ्दै गएको र उपभोग्य वस्तुको आयातले उपभोगमा वृद्धि भएको देखाएको जनाए । भदौ महिनामा केही ह्रास देखिए पनि असोज, कात्तिक र मङ्सिरमा कर तथा राजस्व संकलनमा वृद्धि भएको उहाँले स्पष्ट पार्नुभयो । उपभोग र उत्पादन दुवै क्रमशः बढ्दै गएको उनको विश्वास छ ।

दुई दिनअघि चिनियाँ लगानीकर्ताको सम्मेलनमा सहभागी भएको जानकारी दिँदै अन्तरिम सरकारले गरेका सुधारप्रति चिनियाँ लगानीकर्ता उत्साहित भएको उनले बताए । सङ्कटपछि हाल लगानीको वातावरण सुधार हुँदै एको छ, यद्यपि उत्पादनशील गतिविधि विस्तारका लागि अझै पर्याप्त काम हुन बाँकी रहेको महसुस गरिएको छ।

सरकारले अधिक तरलता र विदेशी मुद्राको सञ्चयलाई उत्पादन र रोजगारी वृद्धि गर्ने दिशामा प्रयोग गर्नुपर्नेमा जोड दिएको अर्थमन्त्रीले उल्लेख गरे । उनले भने “अधिक तरलता र विदेशी मुद्रा सञ्चयलाई उत्पादन तथा रोजगारी वृद्धिमा परिचालन गर्नुपर्छ भन्ने सोचमा सरकार छ ।”