आइतबार, आश्विन १८ गते २०८३

बैंकिङ कर्मचारीमाथि दुर्व्यवहार रोक्न राष्ट्र बैंकको चेतावनी, उच्छृङ्खल गतिविधिले वित्तीय सेवा अवरुद्ध हुनसक्ने


पौष २, २०८२ बुधबार
बैंकिङ कर्मचारीमाथि दुर्व्यवहार रोक्न राष्ट्र बैंकको चेतावनी, उच्छृङ्खल गतिविधिले वित्तीय सेवा अवरुद्ध हुनसक्ने

 

काठमाडौं । बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीमाथि हालैका दिनमा बढ्दै गएको दुर्व्यवहार तथा गैरव्यावसायिक गतिविधिप्रति नेपाल राष्ट्र बैंकले गम्भीर चासो व्यक्त गरेको छ । वित्तीय प्रणालीमा यस्ता गतिविधिले नकारात्मक असर पार्ने भन्दै केन्द्रीय बैंकले संयमित र जिम्मेवार व्यवहार गर्न सरोकारवाला सबैलाई आह्वान गरेको छ ।

नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा बैंक–वित्तीय संस्थाको संयुक्त प्रयासमा देशका सबै स्थानीय तहसम्म बैंकिङ पहुँच विस्तार भइसकेको उल्लेख गर्दै राष्ट्र बैंकले सर्वसाधारणलाई निक्षेप, कर्जा, विप्रेषण र सामाजिक सुरक्षा भत्ताजस्ता सेवा स्थानीयस्तरमै सहज रूपमा उपलब्ध हुँदै आएको जनाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र आफ्नो निर्देशनअनुसार कर्जा प्रवाह, अनुगमन तथा असुली गर्नु सम्बन्धित संस्थाको प्रमुख दायित्व भएको स्पष्ट पारेको छ । निक्षेप संकलन गरेर कर्जा प्रवाह गर्ने प्रणाली भएकाले कर्जा फिर्ता नहुँदा निक्षेपकर्ताको रकम जोखिममा पर्ने र तरलतामा असर पर्ने भएकाले ऋणीले कर्जा भुक्तानी नियमित गर्नुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ ।

तर, कुनै प्रतिकूल परिस्थितिमा ऋण तिर्न कठिनाइ भएमा पुनरसंरचना र पुनरतालिकीकरणजस्ता व्यवस्थामार्फत सहजीकरण हुँदै आएको भन्दै राष्ट्र बैंकले कानुनी र संस्थागत उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।

बैंकिङ कारोबारसँग सम्बन्धित कुनै गुनासो भएमा सम्बन्धित बैंक वा नेपाल राष्ट्र बैंकमै गुनासो सुनुवाइको औपचारिक व्यवस्था रहेको उल्लेख गर्दै, समस्याको समाधान उच्छृङ्खल गतिविधिबाट होइन, संस्थागत प्रक्रियाबाट गर्नुपर्ने राष्ट्र बैंकको स्पष्ट सन्देश छ ।

बैंक तथा वित्तीय संस्था र कर्मचारीविरुद्ध भइरहेका गैरजिम्मेवार र अव्यवस्थित गतिविधि नियन्त्रण नभए वित्तीय साधन परिचालनमा गम्भीर अवरोध उत्पन्न हुने चेतावनी दिँदै राष्ट्र बैंकले यस्ता कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानुनअनुसार कडा कारबाही हुने जनाएको छ ।

वित्तीय क्षेत्रको स्थायित्व र निरन्तरताका लागि बैंकिङ प्रणालीलाई स्वचालित, सुरक्षित र निर्बाध रूपमा सञ्चालन गर्न दिनुपर्ने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको मनोबल उच्च राखी जिम्मेवारीपूर्वक काम गर्नसमेत अनुरोध गरेको छ ।