आइतबार, आश्विन १८ गते २०८३

चार महिनामै भित्रियो करिब ७ खर्ब विप्रेषण, अघिल्लो वर्षको तुलनामा उच्च वृद्धिदर


पौष १, २०८२ मंगलबार
चार महिनामै भित्रियो करिब ७ खर्ब विप्रेषण, अघिल्लो वर्षको तुलनामा उच्च वृद्धिदर

 

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो चार महिनामा नेपाल भित्रिएको विप्रेषण आप्रवाहले अघिल्लो आर्थिक वर्षलाई स्पष्ट रूपमा उछिनेको छ । यस अवधिमा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई रु. ६८७ अर्ब १३ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१–८२ को सोही अवधिमा विप्रेषण वृद्धि दर मात्र ९.४ प्रतिशत रहेको थियो । यसले चालु वर्षमा विप्रेषण वृद्धिदर झण्डै तीन गुणाभन्दा बढी भएको देखाएको छ ।

मासिक आधारमा पनि विप्रेषण आप्रवाहमा उल्लेखनीय सुधार देखिएको छ । २०८२ कात्तिक महिनामा मात्र रु. १३३ अर्ब ८२ करोड विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको रु. ११४ अर्ब ३१ करोडको तुलनामा करिब १९ अर्ब रुपैयाँले बढी हो । यसले नेपाली अर्थतन्त्रमा नगद प्रवाह थप मजबुत बनेको संकेत गर्दछ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि दर केवल ८.२ प्रतिशत मात्र रहेको थियो । यसले विनिमय दरको प्रभावभन्दा बाहिर वास्तविक विप्रेषण आप्रवाहमा उल्लेखनीय विस्तार भएको पुष्टि गर्दछ ।

विप्रेषणसँग जोडिएको खुद द्वितीय आय समेत तीव्र रूपमा बढेको छ । समीक्षा अवधिमा यस्तो आय रु. ७५४ अर्ब ९३ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यो रु. ५६९ अर्ब २९ करोडमा सीमित थियो । एक वर्षमै करिब रु. १८६ अर्बको वृद्धि हुनु बाह्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ ।

यद्यपि वैदेशिक रोजगारीतर्फ जाने नयाँ श्रमिकको सङ्ख्यामा भने मिश्रित संकेत देखिएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ४५ हजार ९७३ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ लाख ४७ हजार ४७८ भन्दा केही कम हो । तर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने उल्लेखनीय रूपमा बढेर १ लाख २७ हजार ८३७ पुगेको छ । अघिल्लो वर्ष यो सङ्ख्या ९४ हजार १०५ मात्र रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा विप्रेषण आप्रवाहले गति लिएको देखिन्छ । उच्च वृद्धिदरले विदेशी विनिमय सञ्चिति बलियो बनाउनुका साथै चालु खाता र शोधनान्तर बचतमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । तर अर्थतन्त्रमा विप्रेषणको उच्च निर्भरता कायमै रहेकाले यसलाई उत्पादनशील क्षेत्रमा लगानीमा रूपान्तरण गर्नु भने अर्थतन्त्रकाे मुख्य चुनौतीका रूपमा रहेकै छ ।