आइतबार, आश्विन १८ गते २०८३

अर्थतन्त्र स्थिरतातर्फ, मुद्रास्फीति न्यून र विदेशी सञ्चिति बलियो


पौष १, २०८२ मंगलबार
अर्थतन्त्र स्थिरतातर्फ, मुद्रास्फीति न्यून र विदेशी सञ्चिति बलियो

 

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो चार महिना (कात्तिकसम्म) को तथ्याङ्कले नेपालको आर्थिक तथा वित्तीय अवस्था समग्रमा स्थिर र सुधारोन्मुख देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक विन्दुगत मुद्रास्फीति १.११ प्रतिशतमा सीमित रहेको छ, जसले मूल्य स्थिरता कायम रहेको संकेत गर्दछ ।

देशको कुल विदेशी विनिमय सञ्चिति रु. ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको छ । अमेरिकी डलरमा यो सञ्चिति २१ अर्ब ५२ करोड बराबर रहेको छ, जुन १७.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त मानिएको छ । यसले बाह्य क्षेत्रको सुदृढता झल्काउँछ ।

बाह्य व्यापार तथा भुक्तानी सन्तुलनतर्फ चालु खाता रु. २७९ अर्ब ६५ करोड र शोधनान्तर रु. ३१८ अर्ब ४० करोड बचतमा रहेको छ । विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ । नेपाली रुपैयाँमा विप्रेषण ३१.४ प्रतिशत र अमेरिकी डलरमा २५.३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्र रु. १३३ अर्ब ८२ करोड विप्रेषण भित्रिएको छ ।

व्यापारतर्फ निर्यातमा ७७.५ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ भने आयात १८.७ प्रतिशतले बढेको छ । यसले आर्थिक गतिविधि क्रमशः सक्रिय बन्दै गएको संकेत गर्दछ ।

सरकारी वित्ततर्फ नेपाल सरकारको कुल खर्च रु. ४६८ अर्ब ८८ करोड पुगेको छ भने राजस्व परिचालन रु. ३२६ अर्ब ५५ करोड रहेको छ । मौद्रिक सूचकतर्फ विस्तृत मुद्राप्रदाय चालु अवधिमा ३.० प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा १२.५ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ३.१ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशतले बढेको छ । वार्षिक आधारमा निक्षेपको वृद्धिदर १३.४ प्रतिशत र निजी क्षेत्र कर्जाको वृद्धिदर ६.९ प्रतिशत रहेको छ ।

ब्याजदरतर्फ बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत रहेको छ । ९१ दिन अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३७ प्रतिशत पुगेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.७४ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.३८ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा मूल्य स्थिरता, बलियो विदेशी विनिमय सञ्चिति, बढ्दो विप्रेषण र सुधारोन्मुख वित्तीय सूचकहरूले नेपालको आर्थिक अवस्था सन्तुलित र सकारात्मक दिशामा अघि बढिरहेको देखाएका छन् ।

यद्यपि उपलब्ध तथ्यांकले अर्थतन्त्रमा केहि प्रमुख चुनाैति रहेकाे उजागर गर्दछन् । निर्यातमा उच्च वृद्धि भए पनि आयात अझै ठूलो परिमाणमा रहँदा व्यापार घाटा दीर्घकालीन रूपमा व्यवस्थापन गर्नुपर्ने चुनौती कायम छ ।
— विप्रेषणमा निर्भरता उच्च रहेकाले वैदेशिक रोजगारीमा पर्ने बाह्य जोखिमले अर्थतन्त्र प्रभावित हुने सम्भावना रहन्छ ।
— निजी क्षेत्रमा कर्जा प्रवाहको वृद्धिदर अपेक्षाकृत न्यून हुँदा उत्पादन, लगानी र रोजगारी सिर्जनामा गति आउन चुनौती देखिएको छ ।
— सरकारी खर्च र राजस्व परिचालनबीचको अन्तरले बजेट कार्यान्वयन र वित्तीय अनुशासनमा दबाब सिर्जना गरेको छ ।
— कम मुद्रास्फीति सकारात्मक भए पनि यसले आन्तरिक माग कमजोर रहेको संकेत गर्न सक्छ, जसले आर्थिक गतिशीलतामा असर पार्न सक्छ ।
— बैंक तथा वित्तीय क्षेत्रमा कर्जाको माग कमजोर रहँदा तरलता उपयोग र वित्तीय मध्यस्थताको प्रभावकारिता बढाउनु चुनौतीपूर्ण बनेको छ ।
— अन्तर्राष्ट्रिय आर्थिक अवस्था, भूराजनीतिक जोखिम तथा वस्तु मूल्यको उतार–चढावले बाह्य क्षेत्रको स्थायित्वमा असर पार्न सक्ने जोखिम विद्यमान छ ।