नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको छ। मौद्रिक व्यवस्थापन विभागद्वारा जारी सूचनाअनुसार मिति २०८२ मंसिर २८ गते उक्त उपकरणका लागि बोलकबोल आह्वान गरिएको हो ।
१० दिन अवधिको यस निक्षेप संकलन उपकरणमार्फत् संकलित निक्षेपकको साँवा तथा ब्याज भुक्तानी २०८२ पुस ९ गते गरिनेछ। यसमा लागू हुने ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ।
बोलकबोल नेपाल राष्ट्र बैंकको अनलाइन प्रणालीमार्फत मध्यान्ह २ः०० बजेसम्म गर्न सकिनेछ। घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल ३५ अर्ब रुपैयाँसम्म बोल गर्न सकिने व्यवस्था गरिएको छ। बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस बोलकबोलमा सहभागी हुन पाउनेछन्। साथै, उक्त निक्षेप संकलन उपकरण नेपाल राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम राख्न र अल्पकालीन मौद्रिक स्थायित्व सुनिश्चित गर्नका लागि राष्ट्र बैंकले समयसमयमा वित्तीय उपकरण प्रयोगमा ल्याउने गरेको छ।
नेपालपत्र संवाददाता