बुधबार, भाद्र ३ गते २०८३

‘भ्रष्टाचार सबैभन्दा ठूलो मानव अधिकार हनन्’: प्रधानमन्त्री कार्की


मंसिर २४, २०८२ बुधबार
‘भ्रष्टाचार सबैभन्दा ठूलो मानव अधिकार हनन्’: प्रधानमन्त्री कार्की

 

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारलाई आजको समयमा मानव अधिकारको सबैभन्दा ठूलो चुनौती र गम्भीर हननका रूपमा परिभाषित गर्दै सरकार यसविरुद्ध कडिकडाइका साथ उभिने प्रतिबद्धता व्यक्त गरेकी छिन्। ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारले सामान्य आर्थिक अनियमितताभन्दा पर गएर नागरिकको आधारभूत अधिकार खोस्ने गम्भीर खतरा पैदा गर्ने बताइन्

“भ्रष्टाचार आर्थिक अनियमितता मात्रै होइन, यसले विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार नै हनन् गर्छ,” प्रधानमन्त्री कार्कीले भनिन्। “आयोजनामा भएको भ्रष्टाचारका कारण बिरामी उपचारबाट वञ्चित हुन्छन्, विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छन्। यो प्रत्यक्ष मानव अधिकार उल्लङ्घन हो।”

प्रधानमन्त्री कार्कीले सरकार भ्रष्टाचारविरुद्ध ‘जुनसुकै हदसम्मको कठोर कदम चाल्न तयार’ रहेको स्पष्ट सन्देश दिइन्। उनका अनुसार पारदर्शी शासन र उत्तरदायी प्रणालीबिना मानव अधिकारको संरक्षण सम्भव छैन।

यस्तै, प्रधानमन्त्री कार्कीले स्वच्छ र निष्पक्ष निर्वाचनलाई लोकतन्त्रको आत्मा ठहर गर्दै आगामी २०८२ फागुन २१ गते हुने निर्वाचनलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।

उनले २१औँ शताब्दीमा मानव अधिकारको दायरा निकै फराकिलो बनेको उल्लेख गर्दै अब मानव अधिकारको अर्थ केवल जीवित रहनु मात्र नभई आत्मसम्मानका साथ बाँच्न पाउनु, राज्यका निर्णयमा प्रश्न गर्न पाउनु, स्वच्छ वातावरणमा रमाउने अधिकार र डिजिटल पहुँचमा समानता सुनिश्चित गर्नु पनि भएको बताइन्।