आइतबार, आश्विन १८ गते २०८३

बैंकिङ क्षेत्रमा एआईकाे प्रयाेग सम्बन्धी मार्गदर्शनको मस्यौदा, राष्ट्र बैंकले माग्याे सुझाव


मंसिर २३, २०८२ मंगलबार
बैंकिङ क्षेत्रमा एआईकाे  प्रयाेग सम्बन्धी मार्गदर्शनको मस्यौदा, राष्ट्र बैंकले माग्याे सुझाव


काठमाण्डाै ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा कृत्रिम बौद्धिकता (एआई) प्रयोगको बाटो खुला गर्न मार्गदर्शनको मस्यौदा सार्वजनिक गरेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागले पुस १५ गतेभित्र सुझाब पेश गर्न आग्रह गर्दै सो मस्यौदा सार्वजनिक गरेको हो। एआई प्रयोगका लागि तयार पारिएको मार्गदर्शन लागू भएपछि राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाहरूले क्रेडिट स्कोरिङ, ठगी पहिचान, ग्राहक सेवा, जोखिम व्यवस्थापन र अनुपालन अनुगमनजस्ता क्षेत्रमा एआई प्रणाली उपयोग गर्न सक्नेछन्।

मार्गदर्शनले एआईमार्फत ग्राहकको ऋणयोग्यता मूल्यांकन, ठगीजन्य गतिविधि पत्ता लगाउने, स्वचालित च्याट सेवा सञ्चालन गर्ने लगायतका कार्यलाई सहज बनाउने उल्लेख गरेको छ। यस्तो प्रविधिको प्रयोगले संस्थाहरूको दक्षता, पारदर्शिता र सेवा क्षमतामा वृद्धि हुने अपेक्षा गरिएको छ। साथै एआई प्रणालीबाट निस्कने नतिजा तथा निर्णयको जिम्मेवारी संस्थाका सञ्चालक समिति र व्यवस्थापनले लिनुपर्ने प्रावधान राखिएको छ। जोखिमको स्तरअनुसार एआई प्रणालीलाई उच्च वा न्यून जोखिमका रूपमा वर्गीकृत गरेर प्रयोगलाई थप सुविचारित बनाउने तयारी पनि मार्गदर्शनमा समावेश छ।

राष्ट्र बैंकले डाटा गुणस्तर, साइबर सुरक्षा, गोपनीयता संरक्षण र नैतिक प्रयोगमा विशेष ध्यान दिने प्रावधान राख्दै जिम्मेवार एआई प्रयोगलाई मुख्य उद्देश्यका रूपमा अघि सारेको छ। पर्याप्त संरचना निर्माण, भेदभावरहित परिणाम सुनिश्चित गर्ने व्यवस्था तथा साइबर जोखिम न्यूनीकरणका उपायहरू जोड दिइएका छन्। मार्गदर्शन लागू भएपछि एआई प्रविधिको प्रभावकारी तथा सुरक्षित प्रयोगबाट वित्तीय संस्थाहरू थप प्रतिस्पर्धी, समावेशी र जनसाधारणका लागि पहुँचयोग्य सेवा प्रदान गर्न सक्षम हुने अपेक्षा गरिएको छ।