राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशभरका कर्जा तथा निक्षेप कारोबारमा उल्लेखनीय योगदान पुर्याइरहेका ६७ शाखा कार्यालय सहभागी ‘बिजनेस मिट–२०८२’ सम्पन्न गरेको छ। कार्यक्रममा बैंकको हालको चुनौती, आगामी रणनीति र विशेषगरी कर्जा गुणस्तरीयता सुधारलाई मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरिएको थियो।
बैंक सञ्चालक समिति अध्यक्ष देवकुमार ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाहरूले आफ्ना कार्ययोजना र सम्भावित ग्राहकको अवस्था विश्लेषणसहित प्रस्तुति दिएका थिए। अध्यक्ष ढकालले कर्जा विस्तारसँगै कर्जाको गुणस्तर सुरक्षित राख्न, जोखिम व्यवस्थापन बलियो बनाउन र सरकारी बैंकप्रतिको विश्वसनीयता अझै मजबूत बनाउने निर्देशन दिए।
प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैंकमा रहेको प्रचुर निक्षेपलाई अवसरका रूपमा उपयोग गर्दै गुणात्मक कर्जा वृद्धिमा प्राथमिकता दिनुपर्ने बताए। उनले सेवा प्रवाह सुधार, शाखा प्रबन्धकको नेतृत्वदक्षता वृद्धि, र सेवाग्राहीसँग सकारात्मक व्यवहार कायम राख्नु कर्जा गुणस्तरमा निर्णायक हुने उल्लेख गरे। खनालले कर्जा गुणस्तर सुधार तथा कर्मचारी क्षमता अभिवृद्धिका लागि नियमित तालिमलाई निरन्तरता दिने पनि स्पष्ट पारे।सञ्चालक समिति सदस्य हरिकुमार सिलवालले युवा र ऊर्जावान मानव संसाधनलाई व्यवसाय विस्तार र कर्जा व्यवस्थापनमा प्रभावकारी रूपमा उपयोग गर्न सुझाव दिए।
कार्यक्रम उपकार्यकारी अधिकृत पवन रेग्मीको संयोजनमा सम्पन्न भएको थियो। औपचारिक कार्यक्रम विभागीय प्रमुख आनन्द सुवेदीले सञ्चालन गरेका थिए भने नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा उपकार्यकारी अधिकृत विनय रमण पौडेल, दुर्गा कुमारी कडेल, रामकुमार थापा, विभागीय प्रमुख तथा प्रादेशिक प्रबन्धकहरूको सहभागिता थियो।
नेपालपत्र संवाददाता