आइतबार, आश्विन १८ गते २०८३

भन्सार प्रकृयामा ‘ब्लु लेन’ थपः जाँचपास सरल तर दण्ड कडा


मंसिर २३, २०८२ मंगलबार
भन्सार प्रकृयामा ‘ब्लु लेन’ थपः जाँचपास सरल तर दण्ड कडा

काठमाणडाै । नयाँ भन्सार ऐन, २०८२ कार्यान्वयनमा आएसँगै भन्सार जाँचपास प्रणालीमा चौथो लेन थपिएको छ। ऐन प्रमाणीकरण भएको ९१ दिनपछि शनिबारदेखि लागू भएको नयाँ प्रणालीसँगै अब भन्सारमा हरियो, पहेँलो र रातो लेनसँगै ‘ब्लु लेन’ पनि सञ्चालनमा आएको हो।

ब्लु लेन कसरी काम गर्छ?

नवीनतम ऐनले भन्सार प्रक्रियामा थपिएको ‘ब्लु लेन’ लेन प्रणालीमा सबैभन्दा नयाँ र विशेष व्यवस्था हो। यसको प्रारम्भिक प्रक्रिया लगभग ‘ग्रिन लेन’ (हरियो लेन) जस्तै छ, जहाँ भन्सार विन्दुमा न कागजात जाँच हुन्छ, न त वस्तुको भौतिक निरीक्षण। तर यसको विशेषता — जाँचपासपछि ‘भन्सार जाँचपास परीक्षण कार्यालय (पीसीए)’ ले अनिवार्य रूपमा पुनः परीक्षण गर्छ।

पहिले हरियो लेनमार्फत जाँचपास भएका वस्तु पीसीएले परीक्षण नगरी पनि पार गर्न सकिन्थ्यो। तर अहिले ब्लु लेनमा परेका सबै वस्तु पीसीए जाँचबाट अनिवार्य रूपमा गुज्रनै पर्छ, जसले विश्वासिलो व्यापारीलाई सहजता दिँदै पनि राज्यका लागि पछिल्लो चरणमा जोखिम नियन्त्रणलाई मजबुत बनाउने विभागको दाबी छ।

यसअघिका विश्वासिला व्यवसायीका वस्तु, सिधै जाँचपास हुने हरियो लेन, कागजात मात्र जाँचिने पहेँलाे लेन र कागजात र वस्तु दुवै जाँचिने रातो लेन पनि कायमै रहेका छन् । 

सहजीकरणसँगै दण्डसजायमा कडाइ

नयाँ ऐनले ‘ब्लु लेन’सँगै ‘आधिकारिक व्यावसायिक व्यक्ति’ (एबीपी) को अवधारणा पनि भित्र्याएको छ। यसमा सूचीकृत व्यवसायीले कम कागजातमा छिटो जाँचपास सुविधा पाउनेछन्। यसैगरी आयातित वस्तु फिर्ता पठाउने अधिकार अब भन्सार प्रमुखलाई नै प्रदान गरिएको छ, जुन पहिले महानिर्देशकको अधिकार क्षेत्रभित्र मात्र सीमित थियो।

प्रकृयामा सहजीकरणसँगै नयाँ ऐनले दण्डसजाय भने कडा बनाएको छ –

  • वस्तुको घोषणा न्यून परिमाणमा गरे जरिवाना ५०% बाट बढाएर १००% 
  • किर्ते कागजातद्वारा राजस्व छल्न खोजे हानिको २००% जरिबाना + १ वर्षसम्म कैद
  • निर्यातमा गलत विवरण भए २००% जरिबाना र वस्तु जफत
  • यात्रुले ल्याउने निजी प्रयोगका वस्तु तथा उपहारलाई कानुनी मान्यता

नेपाल डब्ल्युटीओ तथा क्योटो महासन्धिको पक्ष राष्ट्र भएकाले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नयाँ ऐन ल्याइएको भन्सार विभागले जनाएको छ।