बुधबार, भाद्र ३ गते २०८३

निजी क्षेत्र निरुत्साहित पार्ने कदमले आर्थिक स्थिरता जोखिममाः अर्थमन्त्री खनाल


मंसिर २१, २०८२ आइतबार
निजी क्षेत्र निरुत्साहित पार्ने कदमले आर्थिक स्थिरता जोखिममाः अर्थमन्त्री खनाल

काठमाण्डाै । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि भइरहेका आक्रमण र गैर–जिम्मेवार टिप्पणीले मुलुकको आर्थिक वातावरण कमजोर पर्ने चेतावनी दिएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६औँ वार्षिक साधारण सभामा बोल्दै उनले निजी क्षेत्र देशको आर्थिक मेरुदण्ड भएकाले त्यसलाई निरुत्साहित गर्ने कुनै पनि कदम अनुचित भएको स्पष्ट पारे।

उनले भने, “निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति अन्ततः नेपाली जनताको नै हो। उनीहरू निश्चित समयपछि छोडेर जाने नै हो। त्यसैले निजी क्षेत्रमाथि अनावश्यक आक्रमण गर्नु ठिक होइन।” विधि, प्रक्रिया वा नीतिमा त्रुटि भए सुधारको मार्ग खुला रहने तर “सही व्यक्तिमाथि गलत कदम चालियो भने उनीहरू निरुत्साहित हुन्छन्” भन्दै उनले निजी क्षेत्रको संरक्षणमा सबैले जोड दिनुपर्ने बताए।

अर्थमन्त्री खनालले अपराध पुष्टि भए कानुनी कारबाही सरकारले अवश्य गर्ने उल्लेख गरे। तर कसैलाई दोषी सावित गर्नु अघि “सडक, सामाजिक सञ्जाल वा सञ्चार माध्यमबाट जथाभावी टिप्पणी गर्नु अनुचित” भएको उनको भनाइ थियो।

जेनजी आन्दोलनबारे प्रतिक्रिया दिँदै उनले यो आन्दोलन आर्थिक सुधार मात्र नभई व्यापक भ्रष्टाचार नियन्त्रण, पारदर्शी सेवा प्रवाह र विश्वस्त शासनका लागि उठेको आवाज भएको बताए। युवाहरूका मागलाई बेवास्ता गर्नु राज्यका लागि थप जोखिमपूर्ण हुने उनको टिप्पणी थियो।

अर्थतन्त्रलाई स्थिरता आवश्यक पर्ने भन्दै अर्थमन्त्रीले आगामी निर्वाचन अनिवार्य र तोकिएकै समयमा हुनुपर्ने जोर दिए। निर्वाचन सार्ने वा अनिश्चितता सिर्जना गर्ने कुनै पनि कदमले मुलुकलाई आर्थिक तथा राजनीतिक अस्थिरतामा धकेल्ने चेतावनी उनले दिए। सुरक्षित, निष्पक्ष र भय–रहित चुनावले नेपालप्रति अन्तर्राष्ट्रिय जगतमा सकारात्मक संदेश जाने उनको विश्वास छ।

सरकार सुधारका प्रक्रियामा सक्रिय रूपमा लागेको दाबी गर्दै नेपालबारे अन्तर्राष्ट्रिय समुदायमा बनेको सकारात्मक मूल्यांकन जोगाइराख्न आगामी दिनमा अझ प्रभावकारी कदम चालिने खनालले प्रतिवद्धता जनाए।