नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले मंसिर २१ गते ८४ दिनका लागि कुल रु. ९० अर्बको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने सूचना जारी गरेको छ। बैंकले मध्यान्ह २ बजेभित्र इलेक्ट्रोनिक प्रणालीमार्फत मात्र बोलकबोल स्वीकार गर्ने जनाएको छ। उक्त उपकरणमा ब्याजदर बोलकबोलकै आधारमा निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ फागुन १७ गते हुनेछ।
सहभागी संस्थाहरूले घटीमा १० करोड रुपैयाँदेखि बढीमा ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले मात्र यसमा सहभागिता जनाउन पाउनेछन्। सूचनामा निक्षेपबापत जम्मा गर्न चाहेको रकम तथा प्रस्तावित ब्याजदर दशमलव पछाडि चार अंकसम्म स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने जनाइएको छ। मौद्रिक व्यवस्थापनअन्तर्गत प्रणालीगत तरलता सन्तुलनमा राख्न राष्ट्र बैंकले यस्तो निक्षेप संकलन उपकरण समय–समयमा निष्कासन गर्दै आएको छ।
नेपालपत्र संवाददाता