आइतबार, आश्विन १८ गते २०८३

नबिल बैंकद्वारा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार, २७ शाखाबाट पाइने


मंसिर १८, २०८२ बिहीबार
नबिल बैंकद्वारा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार, २७ शाखाबाट पाइने

 

नबिल बैंक लिमिटेडले मुलुकभरका २७ शाखाबाट अन्तर्राष्ट्रिय भुक्तानी सेवा शुरु गरेको छ। यसअघि केन्द्रीय कार्यालय तीनधारा, पुतलीसडक, महाराजगञ्ज, विराटनगर र पोखरास्थित सीमित शाखाबाट मात्र उपलब्ध सेवा अब १७ उपत्यकाका र १० बाहिरी शाखासहित कुल २७ शाखामा विस्तार गरिएको बैंकले जनाएको छ।

नायब प्रमुख कार्यकारी अधिकृत (डिसीइओ) आदर्श बजगाईँका अनुसार डिजिटल सेवा तथा अन्तर्राष्ट्रिय बैंकिङ पहुँच सुदृढ गर्न सेवा विस्तार गरिएको हो। नबिल अनलाइन पेमेन्ट सेवाबाट अब ग्राहकले भिसा आवेदन शुल्क, विश्वविद्यालय–कलेज आवेदन शुल्क, बीमा, एसीसीए भुक्तानी तथा शैक्षिक/व्यापारिक सम्मेलनसम्बन्धी भुक्तानी सहज र सुरक्षित रूपमा गर्न सक्नेछन्।

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा अब काठमाडौं उपत्यकाका तीनधारा, पुतलीसडक, महाराजगञ्ज, भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, विजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैँसेपाटी र जोरपाटी शाखामा उपलब्ध छ।
उपत्यकाबाहिर इटहरी, वीरगञ्ज, बिर्तामोड, हेटौँडा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, विराटनगर र पोखरा शाखाबाट पनि सेवा लिन सकिने बैंकले जनाएको छ।