आइतबार, आश्विन १८ गते २०८३

निर्यात व्यापारमा क्रमश सुधार,कुल व्यापारमा निर्यातको हिस्सा १३.३० प्रतिशत

मंसिर ८, २०८२ सोमबार
निर्यात व्यापारमा क्रमश सुधार,कुल व्यापारमा निर्यातको हिस्सा  १३.३० प्रतिशत

 नेपालको निर्यात व्यापारमा  क्रमशः सुधार आउन थालेको छ।भन्सार विभागले सार्वजनिक गरेको चालु आवको कात्तिकसम्मको तथ्यांक अनुसार नेपालको कुल व्यापारमा निर्यातको हिस्सा बढ्दै गएको छ । चालु आवको पहिलो चार महिनामा कुल व्यापारको निर्यातको हिस्सा बढेर १३.३० प्रतिशत पुगेको छ । गत वर्षको चार महिनामा कुल व्यापारको निर्यातको हिस्सा ९.३० प्रतिशत रहेको थियो । निर्यात हिस्सा बढ्दा सोही मात्रामा कुल व्यापारमा आयातको हिस्सा भने ९०.७० बाट घटेर ८६.७० प्रतिशतमा झरेको छ । 

विभागका अनुसार चालु आवको पहिलो ४ महिनामा साढे ९३ अर्ब रुपैयाँको सामान निर्यात गरेको छ । चार महिनामा नेपालबाट हुने निर्यात ७७.५१ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष नेपालले चार महिनामा ५२ अर्ब ६७ करोड रुपैयाँको मात्रै सामान निर्यात गरेको थियो। निर्यात बढ्दो क्रममा रहे पनि चालू आर्थिक वर्ष २०८२-८३ को पहिलो चार महिनामा नेपालको व्यापार घाटा ५ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो चार महिना भन्दा नेपालको व्यापार घाटा ११.९९ प्रतिशतले बढेको थियो।

चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चार महिना (साउनदेखि कार्तिकसम्म) को अवधिमा मुलुकको कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष (२०८१-८२) को सोही अवधिमा ५ खर्ब ६६ अर्बको व्यापार भएकोमा यस वर्ष बढेर ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ पुगेको हो। भन्सार विभागका अनुसार कात्तिक महिनासम्म नेपालले ६ खर्ब ९ अर्ब ४५ करोडको बस्तु आयात गरेको छ जुन अघिल्लो वर्ष ५१ अर्ब ३३ अर्ब ८८ करोड रुपैयाँ थियो । नेपालको आयात व्यापार गत आवको भन्दा १८.७१ प्रतिशतले बढेको छ। आयात र निर्यातमा वृद्धिसँगै कुल वैदेशिक व्यापार पनि २४.१८ प्रतिशतले बढेर ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष आयात निर्यात अनुपात ९.७५ गुणा रहेकोमा चालु आवमा यो घटेर ६.५२ गुणा पुगेको छ। 

निर्यातमा ठूलो सुधार भए तापनि आयातको उच्च परिमाणका कारण मुलुकको व्यापार घाटा भने बढेको छ । विभागका अनुसार चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ११.९९ प्रतिशतले बढी हो ।