चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङ्स नेपालद्वारा चितवनमा आयोजित “ राेड टु आइपीओ एण्ड क्रेडिट रेटिङ” कार्यक्रम उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ। नेप्लिज यंग इन्टरप्रेन्योर्स फोरम चितवन च्याप्टरको आयोजना र स्थानीय उद्यमीको सक्रिय सहभागितासहित सम्पन्न यस कार्यक्रमले उद्यमी तथा व्यवसायीहरूलाई आईपीओ प्रक्रिया, क्रेडिट रेटिङ र वित्तीय सुशासनका महत्वपूर्ण पक्षहरूबारे स्पष्ट मार्गदर्शन प्रदान गरेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा फाेरमका चितवन अध्यक्ष तथा एफसिए निशान पौडेलले अतिथिहरूलाई स्वागत गर्दै उद्यमशीलता विकास तथा क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रमले पुर्याउने योगदानबारे प्रकाश पारे ।
एनआईएमबी एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुँगानाले आईपीओका लागि आवश्यक तयारी, सूचीकरणमा अपनाउनुपर्ने रणनीति तथा नेपालका वर्तमान पूँजीबजारका प्रवृत्तिबारे विस्तृत वर्कशप सञ्चालन गरे । नयाँ कम्पनीहरू आईपीओ प्रक्रियामा प्रवेश गर्दा प्रायः देखिने चुनौती र सामान्य गल्तीहरूबारे पनि उहाँले व्यावहारिक सन्दर्भसहित मार्गदर्शन गरेका थिए ।
त्यसैगरी, पायोनियर ल फर्मका व्यवस्थापकीय साझेदार अनुपराज उप्रेतीले सार्वजनिक निष्कासनका कानुनी प्रावधान, नियामकीय प्रक्रिया तथा अनिवार्य अनुपालनका आधारहरूबारे विस्तृत जानकारी दिए । आईपीओ अघि बढ्दा कानुनी तयारी मजबुत हुनु कम्पनीका लागि अत्यावश्यक हुने उनको भनाइ थियो।
क्रेडिट रेटिङका विषयमा केयर एज रेटिङ्स नेपालका प्रमुख कार्यकारी अधिकृत आनन्द प्रकाश झाले कम्पनीको वित्तीय सबलता, सुशासन अभ्यास तथा जोखिम व्यवस्थापनले रेटिङमा पार्ने प्रभावबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरे। विश्वसनीय क्रेडिट रेटिङले लगानीकर्ताको भरोसा बढाउने र पूँजी जुटाउने प्रक्रियालाई सहज बनाउने उनले उल्लेख गरे।
चितवनका उद्यमी तथा युवा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूले अत्यन्तै उपयोगी ज्ञान र व्यवहारिक सिकाइ पाएको आयोजकले जनाएको छ। कार्यक्रमले स्थानीय उद्यमशीलता वृद्धि र वित्तीय साक्षरतामा महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ।
नेपालपत्र संवाददाता