बुधबार, भाद्र ३ गते २०८३

कर्णाली प्रदेशमा निक्षेपको तुलनामा बढेन कर्जाको माग


मंसिर ४, २०८२ बिहीबार
कर्णाली प्रदेशमा निक्षेपको तुलनामा  बढेन कर्जाको माग

कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानीमा वृद्धि हुन सकेको छैन। केन्द्रीय बैंकले गरेको आर्थिक गतिविधि  अध्ययनका अनुसार  बैंक तथा वित्तीय संस्थाहरुमा झण्डै २१ प्रतिशतले निक्षेप बढाए पनि कर्जा लगानी विस्तार तीन प्रतिशत भन्दा कम रहेको छ । 

राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप गत वर्षको तुलनामा २०.७१ प्रतिशतले वृद्धि भई ९१ अर्ब ९ करोड पुगेको छ । गत वर्षमा यस्तो निक्षेप ११.७९ प्रतिशतले वृद्धि भई ७५ अर्ब ४५ करोड ९१ लाख पुगेको थियो । समीक्षा वर्षमा यस प्रदेशमा प्रवाह भएको कुल कर्जा २.८० प्रतिशतले वृद्धि भई ६० अर्ब ८९ करोड ४२ लाख पुगेको छ । गत वर्षमा यस्तो कर्जा २.२३ प्रतिशतले वृद्धि भई ५९ अर्ब २३ करोड ४४ लाख पुगेको थियो ।

यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाका जम्मा शाखाहरुमध्ये वाणिज्य बैंक (क वर्ग) को २१३, विकास बैंक (ख वर्ग) को २१, वित्त कम्पनी (ग वर्ग) को ३ र लघु वित्त वित्तीय संस्था (घ वर्ग) को २३८ रहेका छन्। शाखारहित बैकिङ्ग, ए.टि.एम., मोबाईल तथा इन्टरनेट बैकिङ्ग समीक्षा वर्षमा कर्णाली प्रदेशमा १८ वटा शाखारहित बैकिङ्ग सेवा रहेका छन् । यस्तो सेवा प्रवाहमा सुर्खेत जिल्ला सबैभन्दा अगाडि रहेको छ । यस जिल्लामा ८ वटा शाखारहित बैकिङ्ग सेवा रहेको देखिन्छ ।

त्यसैगरी, हुम्ला, कालिकोट र दैलेखमा २÷२ वटा शाखारहित बैकिङ्ग सेवा रहेका छन्। त्यस्तै, मुगु, जाजरकोट, रुकुम पश्चिम र सल्यानमा १-१ वटा शाखारहित बैकिङ्ग सेवा रहेका छन्। बाँकी दुई जिल्लाहरु डोल्पा र जुम्लामा भने यस्तो सेवा प्रवाह सुरु भएको छैन । 

समीक्षा वर्षमा कर्णाली प्रदेशमा ११७ ए.टि.एम सञ्चालनमा रहेका छन्। समीक्षा वर्षमा हुम्ला र मुगुमा २-२ ए.टि.एम. रहेका छन्। समीक्षा वर्षसम्म कर्णाली प्रदेशमा मोबाईल बैकिङ्ग सेवामा रजिस्टर भएका जम्मा ग्राहकको संख्या ९ लाख ४ हजार ४३१ पुगेको छ । जसमध्ये सबैभन्दा बढी सुर्खेतमा ३ लाख ५३ हजार २०० र सबैभन्दा कम मुगुमा १९ हजार ८९९ रहेका छन् । त्यसैगरी, इन्टरनेट बैकिङ्ग सेवामा रजिस्टर भएका जम्मा ग्राहकका संख्या १९ हजार ३७५ पुगेको छ । जसमध्ये, सबैभन्दा बढी सुर्खेतमा ११ हजार ३६२ र सबैभन्दा कम मुगुमा १४६ रहेका छन्।