काठमाण्डाै । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रिया खुला गरेसँगै नयाँ मतदाताको संख्या उल्लेख्य रूपमा बढेको छ। आयोगका अनुसार सोमबार रातिसम्म ६ लाख २० हजारभन्दा बढी नेपालीले पहिलोपटक आफ्नो नाम दर्ता गराएका छन्।
तीमध्ये ३ लाख ११ हजार ४१४ जना निर्वाचन आयोगको नियमित सर्भरमार्फत र ३ लाख ८ हजार ५८५ जना राष्ट्रिय परिचयपत्रको आधारमा दर्ता भएका हुन्। चुनावमा जेन–जेड युवाको सहभागिता बढाउने उद्देश्यले आयोगले अध्यादेशमार्फत दर्ता प्रक्रिया थप सहज र पहुँचयोग्य बनाएको हो। नामावली दर्ता गराउनेमा करिब ४२ प्रतिशत महिला रहेका छन् भने ५० जना अन्य समुहका रहेका छन् ।
पहिलो चरणमा कात्तिक ३० गतेसम्म मात्र दर्ता खुलाइएको थियो। तर देखिएको चाप र युवाको सक्रियतालाई ध्यानमा राख्दै आयोगले समय बढाउँदै मंसिर ५ गतेसम्म नाम दर्ता खुला गरेको छ। मतदाता नामावली सङ्कलन जारी रहेकाले बाँकी योग्य नागरिकलाई पनि समयमै नाम दर्ता गर्न आयोगले आह्वान गरेको छ।
नेपालपत्र संवाददाता