विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स लगातार बढिरहेकाले देशको विदेशी मुद्रा—विशेषगरी अमेरिकी डलर—सञ्चिति उच्च दरमा वृद्धि भइरहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले मुलुकको मौद्रिक अवस्थाले विगत केही वर्षको तुलनामा निकै सहजता पाएको देखाउँछ।
चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्मको तीन महिनामा मात्रै देशसँग २१ अर्ब २१ करोड अमेरिकी डलर, अर्थात् २९ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ। कुल सञ्चितिमध्ये करिब २४ प्रतिशत भारतीय रुपैयाँमा रहेको राष्ट्र बैंकले जनाएको छ।
यो अवधिमा विदेशी मुद्रा सञ्चिति डलरमा ८.७ प्रतिशतले वृद्धि भएको छ, जुन गत वर्ष सोही अवधिको १९ अर्ब ५० करोड डलरको तुलनामा उल्लेख्य सुधार हो। मुलुकसँग रहेको हालको सञ्चितिले १६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था बनाएको छ—यो पछिल्ला वर्षहरूमा देखिएको सबैभन्दा सहज स्थिति मानिएको छ।
राष्ट्र बैंकका अनुसार बढ्दो रेमिट्यान्स नै विदेशी मुद्रा सञ्चिति विस्तारको प्रमुख कारक बनेको छ। चालु वर्षको तीन महिनामै रेमिट्यान्स ३५.४ प्रतिशतले बढेर पाँच खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा वृद्धि दर १२ प्रतिशतभन्दा कम थियो। दशैं–तिहारजस्ता चाडपर्वका कारण रेमिट्यान्स आप्रवाह झनै बढेको बताइन्छ।
रेमिट्यान्ससँगै निर्यातमा आएको सुधार पनि डलर आपूर्तिमा थप योगदान पुगेको छ। वैदेशिक रोजगारीमा जानेको संख्या पनि बढेको छ—तीन महिनामा १ लाख २३ हजारले अन्तिम श्रम स्वीकृति लिएका छन् भने ७७ हजारभन्दा बढीले पुनः स्वीकृति प्राप्त गरेका छन्।
यसैबीच, बढ्दो रेमिट्यान्स र निर्यातका कारण आर्थिक सूचकहरूमा सुधार देखिएको छ। चालु खाता तीन महिनामा २ खर्ब ३७ अर्ब रुपैयाँले बचतमा छ भने शोधनान्तर स्थितिमा २ खर्ब ६४ अर्ब बराबरको अधिशेष देखिएको छ।
केही वर्षअघि विदेशी मुद्रा सञ्चिति खुम्चिन जाँदा सरकारले दर्जनौँ वस्तु आयातमा रोक लगाउनुपरेको स्थिति अहिले निकै सहज बनेको छ। रेमिट्यान्सको निरन्तर प्रवाह र निर्यात वृद्धि नै मुलुकको डलर सञ्चिति बढाउने मुख्य आधार बनेको राष्ट्र बैंकको विश्लेषण छ।
नेपालपत्र संवाददाता