जर्ज बर्नार्ड शा (१८५६–१९५०) नाटककार, समालोचक, राजनीतिक अभियन्ता, वाकपटु र नोबेल साहित्य पुरस्कारबाट सम्मानित (१९२५) आइरिश मूलका बेलायती हुन् । तर उनले नोबेल पुरस्कारको रकम ग्रहण गरेनन् । नोवेल पुरस्कारका साथै चलचित्र क्षेत्रको सर्बोच्च पुरस्कार ‘ओस्कार’ (१९३९) पाउने उनी एकमात्र हुन् ।
समाजिक समस्यामा आधारित ६० भन्दा बढी नाटकका स्रष्टा शा, सम्भवतः ‘नाट्यसम्राट’ शेक्सपियर पछिका प्रसिद्ध नाटककार हुन् । समसामयिक बिषयमा उनका अनेकौं विचारोत्तेजक लेख–रचनाका कारण समेत शा त्यति नै प्रसिद्ध छन् ।
कुराकानीमा उनी रमाईला र वाकपटु मान्छे थिए । साहित्यलाई आफ्नो मूख्य व्यवसाय किन बनाएको भनी सोध्दा उनको जवाफ हुनेगर्थ्यो, “लेखकलाई पाठकले नदेख्ने हुनाले उसलाई राम्रा लुगाको खाँचो पर्दैन । ब्यापारी, डाक्टर, वकिल, कलाकारहरूलाई पो सबैले देख्छन् र उनीहरू सँधै सुकिलो र चिटिक्क बनेर देखिनुपर्ने हुन्छ । साहित्य नै यस्तो पेशा हो, साहित्यकारले जे लगाए पनि हुन्छ ।” नभन्दै फाटेका जुत्ता, प्वाल परेको पाईन्ट, कठालो खुईलिएको ओभरकोट.....उनको यस्तै परिधान हुनेगर्थ्यो ।
उनको प्रसिद्ध हास्य नाटक ‘आर्म्स् याण्ड द म्यान’ (Arms and the Man) जो सर्बिया–बुल्गारिया युद्ध (१८८५) लाई विषयवस्तु बनाएर लेखिएको थियो । उनी प्रसिद्धिको चुलीमा पुगेको बेला यो नाटक लेखिएको र मञ्चनमा पनि राम्रो सफलता पाएको कृति रहेछ । मैले बी.ए. मा अतिरिक्त विषय (Allied subject) को रुपमा अँग्रेजीको पाठ्यक्रममा यो नाटक पढ्नुपर्थ्यो ।
उनी सिद्धान्ततः निष्ठावान् समाजवादीका साथै समाज सुधारक अभियन्ता पनि थिए । विश्वप्रसिद्ध लन्डन स्कूल अफ इकोनोमिक्स (London School of Economics) का सहसंस्थापक पनि हुन् उनी ।
२५ वर्षको उमेर (१८८१) मा शा शाकाहारी भए । शाकाहारी हुनुको औचित्यबारे उनी भन्थे, “जनाबरहरु मेरा साथी हुन् । म आफ्नो पेटलाई साथीहरुको चिहान किन बनाऊँ ?” उनले रक्सी, कफी, चुरोटको सेवन पनि कहिल्यै गरेनन् ।
महात्मा गान्धीको हत्या हुँदा उनले भनेका थिए– “भलो हुन निकै खतरा रहेछ !”
उनले जीवनभरि नै यस्तै घतलाग्दा विचार दिईरहे, त्यसैले बर्नार्ड शा आज पनि चर्चित रहे । सफलताको बारेमा उनी भन्दथे, “सफलता भन्नाले एउटा पनि गल्ती नगर्नु भन्ने होइन, तर गल्ती नदोहोर्याउनु नै सफलताको आधार हो ।”
९४ वर्षको उमेरमा घरछेउको रुखलाई काट–छाँट गर्ने हुँदा भर्याङ्बाट लडेपछि केही दिनको उपचारको क्रममा उनको निधन भयो ।
चन्द्रमणि गाैतम