काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट बैंकले प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ।
सभाले सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण अनुमोदन गर्दै लाभांश प्रस्ताव स्वीकृत गरेको हो। बैंकले गत आर्थिक वर्षमा रु. ७ अर्ब २३ करोड सञ्चालन मुनाफा र रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा आर्जन गरेको थियो।
अध्यक्ष ढकालले कार्यक्रममा बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति–नियमको पूर्ण पालना गर्दै शेयरधनीलाई स्थायीत्वपूर्ण लाभांश प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे। सभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, शेयरधनी, संस्थागत प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।
ग्लोबल आइएमई बैंक देशभरका ७७ वटै जिल्लामा शाखा सञ्जाल फैलाएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित सेवा, ६८ एक्सटेन्सन र ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ।
बैंकले अमेरिका, ब्रिटेन, अष्ट्रेलिया, जापान, मलेसिया, खाडी मुलुकसहित विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा सञ्चालन गरी आर्थिक समृद्धिमा योगदान दिँदै आएको छ।
गौरवपूर्ण उपलब्धिका रूपमा बैंकले बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, तथा बेष्ट बैंक ईएसजी नेपाल २०२४ लगायतका अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरेको छ।
नेपालपत्र संवाददाता