बुधबार, भाद्र ३ गते २०८३

नेपाल वायुसेवा निगमले सुरु गर्‍यो कर्मचारी कटौती


कार्तिक २७, २०८२ बिहीबार
नेपाल वायुसेवा निगमले सुरु गर्‍यो कर्मचारी कटौती

 

नेपाल वायुसेवा निगमले संगठनलाई चुस्तदुरुस्त र आर्थिक रूपमा सुदृढ बनाउन कर्मचारी कटौती अभियान सुरु गरेको छ। निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार व्यवस्थापकीय सुधार र खर्च घटाउने नीति अनुरूप पहिलो चरणमा एक जना करार तथा पाँच जना मासिक ज्यालादारी कर्मचारीको सेवा रद्द गरिएको हो।

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि सुरु गरिएको यो अभियान अन्तर्गत विराटनगरस्थित दुई जना, नेपालगन्जका तीन जना र पोखरास्थित एक जना कर्मचारीको सम्झौता रद्द गरिएको निगमले जनाएको छ।

प्रवक्ता घिमिरेले प्रधानमन्त्रीले पहुँचका आधारमा भएका भर्तीहरू हटाउन र निगमभित्र सुधार ल्याउन निर्देशन दिएको बताए। निगमले हाल १,४५८ कर्मचारीमध्ये ८५० स्थायी र बाँकी करार तथा मासिक ज्यालादारी रहेका जनाउँदै आवश्यकता अनुसार थप कटौती अघि बढाइने जानकारी दिएको छ।

निगमले उडान सञ्चालनमा रहेका र अवरुद्ध आन्तरिक स्टेसनको अवस्थालाई ध्यानमा राखी चरणबद्ध रूपमा कर्मचारी संख्या घटाउने नीति अघि बढाएको जनाएको छ।