नेपाल राष्ट्र बैंकले गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (२०८१।८२) अनुसार बागमती प्रदेशमा एक वर्षको अवधिमा ५४३ उद्योग दर्ता गरिएका छन् । ती मध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा ३४० रहेका छन् ।
बागमती प्रदेशमा सञ्चालित अधिकांश उद्योगहरू काठमाडाैं उपत्यका, चितवन र मकवानपुरमा रहेका छन् । यस प्रदेशमा रहेका प्रमुख उद्योगहरूमा छालाका जुत्ता, कपडाका जुत्ता, गलैंचा, पश्मिना, फेल्टका सामान, जीवजन्तुको आहार, ऊनको तयारी पोसाक, सुतीको तयारी पोसाक, सजावटका सामान, चाउचाउ, बिस्कुट, पेय पदार्थ, इँटा, औषधी र सिमेन्ट उद्योगहरू रहेको प्रतिवेदनले जनाएको छ । स्थापना गरिएका यी उद्योगहरूको प्रस्तावित कुल पुँजी रु. ७१ अर्ब ९७ करोड रहेको छ । प्रस्तावित उद्योगहरूले कुल २४ हजार ९३ जनालाई रोजगारी दिन सक्ने देखिन्छ ।
औद्योगिक कर्जामा वृद्धि
२०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले बागमती प्रदेशका उद्योगहरूमा प्रवाह गरेको कर्जा १३.८ प्रतिशतले वृद्धि भई रु.१२ खर्ब ११ अर्ब ५ करोड पुगेको छ । गत वर्ष यस्तो कर्जा ११.५ प्रतिशतले वृद्धि भई रु.१० खर्ब ६३ अर्ब ९४ करोड पुगेको थियो (तालिका ४.१) । यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३६.४ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी रु.११ खर्ब १९ अर्ब ३० करोड (९२.४ प्रतिशत) कर्जा लगानी रहेको छ भने रसुवा जिल्लामा सबैभन्दा कम रु.१३ करोड (०.०१ प्रतिशत) कर्जा लगानी रहेको छ (तालिका ४.२) । अधिकांश औद्योगिक प्रतिष्ठानहरूको केन्द्रीय कार्यालय काठमाडौंमा रहेकोले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौंमा देखिएको अनुमान छ ।
कुल औद्योगिक कर्जामा विद्युत्, ग्याँस तथा पानी उद्योगको हिस्सा ३६.५ प्रतिशत, गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगको हिस्सा ३१.५ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगको हिस्सा १५.० प्रतिशत, निर्माण उद्योगको हिस्सा १२.८ प्रतिशत, धातुका सामान उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगको हिस्सा ३.५ प्रतिशतले र खानी उत्पादनसम्बन्धी उद्योगको हिस्सा ०.७ प्रतिशत रहेको छ ।
कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा २२.०९ प्रतिशतले, विद्युत्, ग्याँस तथा पानीमा २१.१ प्रतिशतले, निर्माण उद्योगमा १५.३० प्रतिशतले र गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ४.९० प्रतिशतले कर्जा बढेको छ भने खानी उत्पादनसम्बन्धी उद्योगमा १.३४ प्रतिशतले र धातुका सामान उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगमा २.५८ प्रतिशतले कर्जा घटेको राष्ट्र बैंककाे तथ्यांकले देखाउँछ ।
नेपालपत्र संवाददाता