काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालै ‘वित्तीय चेतनाका लागि’ अभियानअन्तर्गत गैरकानुनी हुन्डी कारोबारबारे सर्वसाधारणलाई सचेत गराउँदै सार्वजनिक सूचना जारी गरेको छ। बैंकले कानुनद्वारा स्वीकृत वित्तीय प्रणालीबाहिर रकम साटासाट, पठाउने वा भुक्तानी लिने गतिविधि अपराध मानिने भन्दै यस्तो कार्यमा संलग्न नहुन आग्रह गरेको हो।
सूचनाअनुसार, हुन्डीसम्बन्धी कारोबार भन्नाले कानुनी मान्यता प्राप्त वित्तीय संस्था वा भुक्तानी प्रणालीबाहेक अन्य व्यक्ति वा माध्यममार्फत नेपाल वा विदेशमा रकम स्थानान्तरण वा भुक्तानी गर्ने कार्यलाई जनाइन्छ। यस्तो कारोबार ‘फौजदारी अपराध संहिता, २०७४’ को दफा २२५ अनुसार गैरकानुनी रहेको स्पष्ट उल्लेख गरिएको छ।
राष्ट्र बैंकले जनाएअनुसार, हुन्डी कारोबार गर्न वा गराउन कसैलाई पनि अनुमति दिइएकाे छैन, त्यस्तो गैरकानुनी माध्यम प्रयोग गरी रकम पठाउने वा लिने व्यक्तिलाई कानुनी कारबाहीको व्यवस्था रहेकाे छ । सूचना अनुसार, “हुन्डीसम्बन्धी कसूर गर्ने व्यक्तिले गरेको बिगो वा सोबाट बढाएको सम्पत्तिसहित जफत हुने र एक वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था छ,” भनिएको छ।
रकम स्थानान्तरण सम्बन्धी सबै वैधानिक कारोबार नेपाल राष्ट्र बैंकले इजाजतपत्र दिएको बैंक, वित्तीय संस्था र विप्रेषण कम्पनीमार्फत मात्र गर्नुपर्ने र त्यसबाहेकका माध्यम प्रयोग गर्नु कानुनविपरीत भएकोले आर्थिक क्षतिका साथै कानुनी जोखिम पनि रहन्छ।
राष्ट्र बैंकले जनसाधारणलाई ‘सस्तो शुल्क’ वा ‘छिटो सेवा’को लोभमा परेर हुन्डी कारोबार नगर्न चेतावनी दिएको छ। यसले राज्यको वैदेशिक मुद्राको व्यवस्थापनमा नकारात्मक असर पार्ने, आर्थिक अपराध बढाउने र सम्पूर्ण वित्तीय प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाउने भएकाले यस्तो कार्यलाई रोक्न सबैको सहकार्य आवश्यक रहेको बैंकको भनाइ छ।
नेपालपत्र संवाददाता