नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको दीर्घकालीन पूर्वाधार विकासका लागि आन्तरिक पूँजी परिचालनलाई अपरिहार्य भएको बताएका छन्।
काभ्रे उद्योग वाणिज्य संघको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार परियोजनाहरूका लागि केवल प्रत्यक्ष वैदेशिक लगानी मा निर्भर रहँदा पर्याप्त परिणाम नआउने बताउँदै देशमै छरिएर रहेको पूँजीलाई संगठित गरी पूर्वाधार र उद्यमशीलताको विकासमा लगाउनुपर्ने आवश्यकता औंल्याए।
उनले महासंघको पहलमा १० अर्ब रुपैयाँ पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरी कार्य सुरु गरिएको जानकारी दिँदै यसले ठूला पूर्वाधार परियोजना र उद्यमका लागि पूँजी अभाव समाधानमा मद्दत गर्ने विश्वास व्यक्त गरे।
देशको आर्थिक वातावरण सुधारका लागि महासंघले निरन्तर बहस र पैरवी गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले सुशासन, पारदर्शिता र नीतिगत स्थायित्वलाई महासंघका प्रमुख प्राथमिकता बनाइएको बताए।
ट्रङ्क तथा डेडिकेटेड लाइनको समस्या समाधानका लागि सरकारसँग सहकार्य भइरहेको बताउँदै उनले यो प्रयासले दीर्घकालीन रूपमा विद्युत् आपूर्तिसम्बन्धी समस्या समाधानमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
त्यसैगरी, जिल्ला–नगर वाणिज्य संघहरूको मागअनुसार महासंघको विधान संशोधन गरी दुई जना उपाध्यक्षको व्यवस्था गरिएको जानकारी दिँदै ढकालले यो व्यवस्थाबाट तल्लो तहका वाणिज्य संघहरू थप लाभान्वित हुने बताए।
उनले स्थायी आर्थिक समृद्धि, उत्पादनमुखी अर्थतन्त्र, रोजगारी सिर्जना र स्वावलम्बी नेपाल निर्माण सबैको साझा लक्ष्य भएको उल्लेख गर्दै त्यसका लागि महासंघ सधैं सहकार्यका लागि तयार रहेको प्रतिवद्धता व्यक्त गरे।
नेपालपत्र संवाददाता