आइतबार, आश्विन १८ गते २०८३

सरकारले खुलायाे स्टार्टअप कर्जा, ३ प्रतिशतमा २० लाखसम्म पाइने


कार्तिक २०, २०८२ बिहीबार
सरकारले खुलायाे स्टार्टअप कर्जा, ३ प्रतिशतमा २० लाखसम्म पाइने

 

काठमाडौँ । नयाँ सोच, नवीनतम सिप र उद्यमशील क्षमता भएका युवाका लागि सरकारले स्टार्टअप कर्जा कार्यक्रम फेरि खुलाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालु आर्थिक वर्ष २०८२/८३ का लागि स्टार्टअप उद्यम कर्जा प्रस्ताव आह्वान गरेको हो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताका अनुसार यस वर्ष ४ सय उद्यमीलाई कर्जा दिने लक्ष्य राखिएको छ । सरकारले यसका लागि ७३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्ष ६ सय परियोजनालाई एक अर्ब रुपियाँबाट कर्जा प्रवाह गरिएको थियो ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि–२०८१ अनुसार ३ प्रतिशत ब्याजदरमा अधिकतम २० लाख रुपैयाँसम्म कर्जा लिन सकिने छ । कर्जा वितरण राष्ट्रिय वाणिज्य बैंकमार्फत हुनेछ ।

कर्जाको आकारअनुसार किस्ता पनि तोकिएको छ —
👉 पाँच लाखसम्मको कर्जा : एक किस्तामा
👉 १५ लाखसम्म : दुई किस्तामा
👉 १५ लाखभन्दा माथि : तीन किस्तामा

इच्छुक उद्यमीले तोकिएको मापदण्ड पूरा गरी आगामी मङ्सिर ९ गतेसम्म प्रस्ताव पेस गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।