काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरूसँग डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बैंकले आईटी क्षेत्रका व्यवसायीहरूलाई लक्षित गर्दै कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, बैंकको विशेष कर्जा योजनाहरू, नविनतम डिजिटल सेवा, साइबर सुरक्षा तथा बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपायलगायत विषयमा जानकारी दिएको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसागत समूहसँग सहकार्य गर्दै व्यवसाय विस्तारका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले वित्तीय साक्षरताको स्तर बढाउन मुलुकभर बैंकले निरन्तर अभियान सञ्चालन गरिरहेको पनि जानकारी दिनुभयो ।
नास–आईटी र बैंकबीचको सहकार्यलाई दीर्घकालीन बनाउन कर्मचारीहरूको सीप, ज्ञान र अनुभव अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना पनि रहेको छ । यससँगै, ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित “दिगो कोष” लाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ ।
देशभर ७७ वटै जिल्लामा सेवा सञ्जाल विस्तार गरेको ग्लोबल आइएमई बैंकको हाल ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ विदेशी प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
नेपालपत्र संवाददाता