बुधबार, भाद्र ३ गते २०८३

चार उद्योगले तिरे बक्यौता महशुल, पहिलाे किस्ता पछि विद्युत सुचारू

कार्तिक १८, २०८२ मंगलबार
चार उद्योगले तिरे बक्यौता महशुल, पहिलाे किस्ता पछि विद्युत सुचारू

विद्युत प्राधिकरणले लाइन काटिदिएका चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरेका हुन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका हुन्। 

बक्याैता वापतकाे पहिलो किस्ता तिरेपछि उद्योगको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको छ। ती उद्योगले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगवापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन्।

प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकको रु. २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको रु ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको  रु एक करोड  ८३ लाख र श्याम प्लास्टिकको रु ४९ लाख १० हजार बक्यौता रहेको छ। बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता तिरेका हुन् ।