काठमाण्डाै । वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको देखिएको हो । वैदेशिक रोजगार विभागका अनुसार चालु आव २०८२।८३ को साउन, भदौ र असोजमा दुई लाख १० हजार ५१६ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
आव २०८१।८२ को सोही अवधिमा एक लाख ७० हजार ६०३ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका थिए । यस अनुसार चालु आवमा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या ३९ हजार ९१३ जनाले बढी हो ।
पछिल्लो समय श्रम गन्तव्य मुलकहरुबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जनाए । समय करार रद्द गरेर आएका श्रमिक पनि स्वदेशमा केही विकल्प नदेखिपछि नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेको उनको भनाइ छ । विभागले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रम स्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग पनि बढेको जनाएको छ ।
विभागका अनुसार पछिल्लो चार वर्षमा २९ लाख ९८ हजार २६६ युवाले रोजगारी खोज्दै नेपाल छोडेका छन् । चार वर्षको तथ्याङ्कलाई औसत गर्दा वार्षिक सात लाख ४५ हजार ६६ युवाशक्ति रोजगारी खोज्दै विदेश गएको देखिन्छ । यो सङ्ख्या पुनः श्रम स्वीकृति लिएर गएका समेतको हो । श्रम स्वीकृति लिएकामध्ये ६४ प्रतिशत नयाँ श्रमिक हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रम स्वीकृति लिने हुन्छन् । गत आवमा रोजगारी खोज्दै आठ लाख ३९ हजारभन्दा बढी युवा विदेश गएका थिए भने अघिल्लो वर्ष सात लाख ४१ हजार नेपाली रोजगारीका लागि बिदेसिएका थिए ।
नेपालपत्र संवाददाता