बुधबार, भाद्र ३ गते २०८३

ठूला काराेबार गर्ने बैंकको सम्पत्ति गुणस्तर परीक्षण सुरु, लाेन क्वालिटी पत्ता लाग्ने


कार्तिक १७, २०८२ सोमबार
ठूला काराेबार गर्ने बैंकको सम्पत्ति गुणस्तर परीक्षण सुरु, लाेन क्वालिटी पत्ता लाग्ने

 

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि स्थलगत सुपरीवेक्षण सुरु भएकाे छ । नेपाल राष्ट्र बैंक र बंगलादेशको लेखापरीक्षण फर्म हाउल्याडर युनुस एन्ड कम्पनी का लेखापरीक्षकसहितको टोली आइतबारदेखि बैंकहरूमा पुगेको हो ।

राष्ट्र बैंकका दुई र फर्मका दुई गरी चार सदस्यीय टोलीले बैंक व्यवस्थापनसँग छलफल गर्दै प्रत्यक्ष परीक्षण सुरु गरेको हो । दशैंअघि नै आवश्यक विवरण र तथ्यांक संकलन गरिसकेको टोलीले अब बैंकका कर्जा फाइल, कोर बैंकिङ सिस्टम, परियोजना लगानीको अवस्था र कर्जा भुक्तानी प्रक्रियाको विस्तृत परीक्षण गर्नेछ ।

गत चैतको वासलताका आधारमा बढी कर्जा लगानी गरेका ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, प्रभु, हिमालयन, एनएमबि र एनआईसी एशिया गरी १० वटा बैंक परीक्षणको दायरामा परेका छन् । यो मूल्यांकन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको विस्तारित कर्जा सुविधा  कार्यक्रमअन्तर्गतको सर्तअनुसार भइरहेको हो ।

राष्ट्र बैंक स्रोतका अनुसार संयुक्त टोलीले केही दिनभित्रै सबै बैंकको प्रत्यक्ष अनुगमन गरी करिब साढे दुई दर्जन सूचकका आधारमा सम्पत्तिको गुणस्तर मूल्यांकन गर्नेछ । कर्जाको सदुपयोग, परियोजनाको प्रगति, र कर्जा भुक्तानी प्रणालीमा विशेष ध्यान दिइने बताइएको छ ।

एभरग्रिनिङ र लोन क्वालिटी परीक्षण हुने

आईएमएफले अघिदेखि नै नेपालका बैंकहरूले ‘एभरग्रिनिङ’ अर्थात् निष्क्रिय कर्जालाई लुकाउने अभ्यास गर्दै आएको आशंका व्यक्त गर्दै आएको छ । बैंकहरूले पुराना ऋण तिर्न नयाँ ऋण प्रयोग गर्ने, कर्जा एउटै प्रयोजनका लागि लिएर अर्को प्रयोजनमा खर्च गर्ने, वा जोखिमपूर्ण परियोजनालाई ‘सक्रिय’ देखाउने प्रवृत्तिको अनुसन्धान यस परीक्षणले गर्नेछ ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार, “यो परीक्षणले बैंकहरूको वास्तविक लोन क्वालिटी कस्तो छ भन्ने स्पष्ट पार्नेछ । यदि एभरग्रिनिङ पुष्टि भयो भने कर्जा नोक्सानी व्यवस्थामा ठूलो संशोधन आवश्यक पर्न सक्छ।”

बैंकहरूमा अप्ठ्याराेमा पर्न सक्छन्

बैंकहरूले पर्याप्त धितो सुरक्षण र जोखिम व्यवस्थापनको दाबी गरे पनि लोन पोर्टफोलियो रिभ्यूपछि कर्जा नोक्सानी व्यवस्था (लाेन लस प्रभिजन) बढ्ने सम्भावनाले उनीहरूमा चिन्ता बढेको छ । सम्भावित परिणामले बैंकको नाफा घट्ने र पूँजी पर्याप्ततामा दबाब पर्न सक्ने अनुमान गरिएको छ ।

बैंकिङ विश्लेषकहरूको भनाइमा, यो परीक्षण नेपालको वित्तीय क्षेत्रको पारदर्शिता र नियमन क्षमतालाई परख गर्ने लिटमस टेस्ट बन्न सक्छ ।