आइतबार, आश्विन १८ गते २०८३

तीन दिनपछि बिपी राजमार्ग सञ्चालनमा


कार्तिक १६, २०८२ आइतबार
तीन दिनपछि बिपी राजमार्ग सञ्चालनमा

 

तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। अविरल वर्षा र पहिरोका कारण बन्द भएको काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा–नेपालथोक सडकखण्डमा अवरोध हटाई आज बिहानदेखि सवारी सञ्चालन सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयका प्रमुख डिभिजनल सिनियर इञ्जिनियर सुमन योगेशका अनुसार रोशी गाउँपालिका–८ चारसयबेँसीमा ५० मिटर लामो ‘डाइभर्सन’ बनाएर सडक सञ्चालनमा ल्याइएको हो। सुक्खा पहिरोका कारण काममा केही कठिनाइ भए पनि शनिबार बिहानबाट यातायात चल्न थालेको उनले बताए।

कात्तिक १३ गतेदेखि लगातार वर्षाका कारण चौकीडाँडा–नेपालथोक सडकखण्डका विभिन्न भागमा ढुङ्गा र लेदो सहितका पहिरो खसेर सडक अवरुद्ध भएको थियो। बिहीबार रातिदेखि माथिबाट निरन्तर सुक्खा पहिरो खसेकाले यातायात रोकिएको थियो।

गत वर्षको बाढीपहिरोले चौकीडाँडा–बर्खेखोला खण्डको करिब आठ किलोमिटर सडक बगाएको थियो। अहिले क्षतिग्रस्त भागको स्थायी पुनर्निर्माणका लागि राजमार्गलाई चार खण्डमा विभाजन गरी ठेक्का प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।