बुधबार, भाद्र ३ गते २०८३

नेपालबाट भारततर्फ २८३ मेगावाट विद्युत् निर्यातको अनुमति पुनःस्वीकृत


कार्तिक १४, २०८२ शुक्रबार
नेपालबाट भारततर्फ २८३ मेगावाट विद्युत् निर्यातको अनुमति पुनःस्वीकृत

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आठ जलविद्युत् आयोजनाबाट २८३ मेगावाट विद्युत् निर्यातको अनुमति नवीकरण गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) का लागि चार र हरियाणा राज्यमा निर्यात हुने चार आयोजनाको अनुमति करिब एक वर्षका लागि नवीकरण गरिएको हो।

प्राधिकरणले देशभित्र खपतपछि बाँकी विद्युत् भारतको आइइएक्समार्फत प्रतिस्पर्धी दरमा तथा मध्यकालीन सम्झौताअन्तर्गत हरियाणा र विहारमा बिक्री गर्दै आएको छ। हाल १०३ मेगावाट आइइएक्स र १८० मेगावाट विहारका लागि निर्यात अनुमति पुनःस्वीकृत भएको हो।

यससँगै नेपालले बङ्गलादेशमा निर्यात हुने ४० मेगावाटसहित कुल १,१६५ मेगावाट विद्युत् निर्यातको अनुमति पाएको छ। ऊर्जा मन्त्री कुलमान घिसिङले हालै भारत भ्रमणका क्रममा भारतीय विद्युत् मन्त्री मनोहरलाल खट्टरसँग भेट गर्दै निर्यात स्वीकृतिको प्रक्रिया सरलीकृत गर्न र नवीकरण प्रस्ताव छिटो स्वीकृत गर्न आग्रह गरेका थिए।