बुधबार, भाद्र ३ गते २०८३

तीन महिनामा ३५ अर्ब प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता


कार्तिक ११, २०८२ मंगलबार
तीन महिनामा ३५ अर्ब प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता

चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो तीन महिनामा नेपालले करिब ३५ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागका तथ्यांकअनुसार साउनदेखि असोजसम्म ३११ परियोजनामार्फत ३५ अर्ब १३ करोड ७७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो।

असोज महिनामा मात्रै ५४ परियोजनाबाट करिब ४ अर्ब ९४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छजुन क्षेत्रगत हिसाबले हेर्दा यस्ताे छः 

  • पर्यटन क्षेत्र सबैभन्दा आकर्षक रहेको छ, जसमा १०३ उद्योगले १ अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता पाएका छन्।

  • उत्पादन क्षेत्रका १५ उद्योगले २१ करोड १० लाख रुपैयाँ,

  • कृषि क्षेत्रका ११ उद्योगले ४ करोड रुपैयाँ,

  • सेवा क्षेत्रका १९ उद्योगले १८ करोड १० लाख रुपैयाँ, र

  • सूचना प्रविधि क्षेत्रका १६२ उद्योगले १५ करोड ३७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आकर्षित गरेका छन्।

लगानी आकारका हिसाबले ७ ठूला, ४ मध्यम र करिब ३०० साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ, जसले देखाउँछ कि नेपालमा साना तथा मध्यम उद्यम अझै पनि विदेशी लगानीकर्ताको प्राथमिकतामा छन्।

उद्योग विभागका अनुसार, हालसम्म नेपालमा कुल ७,५५० उद्योगहरूमा ६ खर्ब ८६ अर्ब रुपैयाँभन्दा बढी एफडीआई प्रतिबद्धता स्वीकृत भइसकेको छ। तर, प्रतिबद्धता र वास्तविक लगानीबीच ठूलो अन्तर रहँदै आएको छ। उदाहरणका लागि, अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ६५ अर्ब रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आउँदा, वास्तविक रूपमा केवल १२ अर्ब रुपैयाँ मात्र नेपाल भित्रिएको थियो।

गत तीन महिनाको तथ्यांकले नेपालप्रति वैदेशिक लगानीकर्ताको रुचि अझै कायम रहेको देखाउँछ। तर प्रतिबद्धता र कार्यान्वयनबीचको अन्तरले नीतिगत अस्पष्टता, प्रशासनिक ढिलासुस्ती, राजनीतिक अस्थिरता र लगानी सुरक्षा सम्बन्धी अनिश्चितता जस्ता दीर्घकालीन चुनौतीहरूलाई रहेकाे देखाउँछ ।